काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड स्थापनाको तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । 

नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड स्थापना भएको थियो । 

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्चस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको बैंकले यसपालिको वार्षिकोत्सव भर्चुअली मनाएको छ । 

विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुअल्ली मनाएको छ । 

बैंकको आज बसेको ३३२ औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति पनि सार्वजनिक गरेको छ ।  यो प्रस्तुति यस बैंकको वेबसाइट तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत राखिएको बैंकले जनाएको छ । 

हरेक त्रैयमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरे । 

बैंकले आफनो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा “Citizens Xtra Fixed Deposit” निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महिना देखि १० वर्षसम्मको अवधि तथा रू १ लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत ब्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त ब्याजदरमा ०.५० प्रतिशतसम्म थप गर्न सक्नेछन् । 

यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकले मुद्धति खाताबाट आर्जित ब्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।

भर्चुअल्ली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।