काठमाण्डौ  । शाखा  बिस्तारमा आक्रामक देखिएको सिद्धार्थ बैंकले ५ दिनको अवधिमा १० वटा नयाँ शाखा बिस्तार गरेको छ । 

बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप बैंकले बिहीबार संखुवासभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकैसाथ ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यसअघि बैंकले आइतबार विभिन्न ४ स्थानमा नयाँ शाखा बिस्तार गरेको थियो ।  

नयाँ शाखाहरुमार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य ४ गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । 

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ९२ वटा शाखा, १०५  एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ  ।