काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको काठमाण्डौको तीनकुनेस्थित शाखा कार्यालय ललितपुर उपमहानगरपालिका वडा नं. ३५ कुमारीपाटीमा स्थानान्तरण भएको छ ।

नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्रबैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरे ।

एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसँग मर्जरपछि साबिक नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय भएको सुविधानगर शाखा कुमारीपाटीमा स्थानान्तरण भएको हो । 

बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको शाखा स्थानान्तरण समारोहमा आफ्नो मन्तब्य राख्दै डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार तथा वित्तीय स्थायीत्व कायम गर्न केन्द्रित रहेको बताउँदै बैंक तथा बित्तीय संस्थालाई राष्ट्र बैंकले तोकेकै समय सीमाभित्रै चुक्तापूँजी पुर्याउन आग्रह गरे । उनले बैंक तथा बित्तीय संस्थालाई संस्थागत सुशासनमा ध्यान पुर्याउन र गाउँ केन्द्रीत सेवा विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड सवल बैंकको रुपमा रहेको बताए ।

एकताविकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसंगको मर्जरपछि जेठ २८ गते सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार शुरु गरेको बैंकले गत असार मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप संकलन गरी १० अर्व ५८ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकको  चुक्तापूँजी १ अर्ब १४ करोड रहेको छ । आर्थिक वर्ष २०७२ ७३ मा ३३ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको बैंकले आफ्ना शेयरधनीलाई २४ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले ३३ शाखा कार्यालयमार्फत १ लाख ५० हजार ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।