काठमाण्डौ । सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडको प्रवद्र्धन तथा सिद्धार्थ बैंकको प्रायोजनमा संचालन स्वीकृति पाएको सिद्धार्थ इक्वीटी फण्डका इकाईहरुको बाँडफाँड भएको छ । 

बिहीबार काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल परिसरमा आइपीओको बाँडफाँड गरिएको हो । 

सिद्धार्थ इक्वीटीको आइपीओमा ८ लाख युनिटसम्मका लागि आवेदन दिनेहरुले मागे जति नै इकाई पाएका छन् । १० लाखदेखि २४ लाख इकाइसम्मका दरले आवेदन दिने ४१ ऋावेदकमध्ये ३३ आवेदकलाई प्रति आवेदक ९ लाख ६७ हजार ७ सय ४८ इकाईको दरले बाँडफाँड गरिएको थियो भने ८ आवेदकलाई ९ लाख ६७ हजार ७ सय ४७ कित्ताको दरले इकाई बाँडफाँड गरिएको छ । बाँकी रहेको २ करोड २५ लाख इकाई सिद्धार्थ बैंकलाई फण्ड प्रायोजकको हैसियतले बाँडफाँड गरिएको छ । 

यो म्युुचुुअल फण्डको इकाईमा २९ हजार ५ सय ७३ आवेदन परेकामा २४ वटा आवेदन रद्ध भएका थिए । 

प्रारम्भमा यो फण्डले १ अर्ब २० करोड मूल्यको १२ करोड कित्ता इकाई निश्कासन गरेको भए पनि अत्यधिक माग भएको भन्दै २५ प्रतिशत थप गरी १ अर्ब ५० करोडको आकारको बनाइएको थियो । यो फण्डले गत असोज २५ गतेदेखि ३० गतेसम्म आइपीओ निश्कासन गरेको थियो । 

निश्कासितमध्ये १५ प्रतिशतले हुन आउने इकाई पहिला नै फण्ड प्रायोजकका लागि सुरक्षित गरिएको थियो ।

सिद्धार्थ इक्वीटी फण्ड १० वर्षे बन्दमुखी म्युचुुअल फण्ड हो । सिद्धार्थ क्यापिटलले यसअघि नै २ म्युचुुअल फण्ड संचालन गरेको थियो । यसअघि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम संचालनमा थियो । यी दुवै फण्ड ५ वर्षे बन्दमुखी फण्ड हो ।