काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.८० प्रतिशतको प्रगति गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा वर्षमा १ अर्ब ८५ करोडको उचाईमा पुर्याएको हो । 

व्यवसाय बिस्तारमा ध्यान दिएको बैंकले यो अवधिमा खूद ब्याज आम्दानीतर्फ निकै राम्रो प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष २ अर्ब ६५ करोडमा सीमित यस्तो आम्दानी बढेर ३ अर्ब ३४ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट २८ करोड ४४ लाख राइटब्याक गरेको बैंकले १ अर्ब ७५ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब ४९ करोडको उचाई चुमाएको छ । 

कर्मचारी खर्च तथा अन्य संचालन खर्चमा समेत भारी वृद्धि भएको बैंकले समीक्षा अवधिमा ९ अर्ब ९६ करोड ब्याज आम्दानी गरी ब्याज खर्चमा मात्रै ६ अर्ब ६२ करोड खर्च गरेको छ। 

समीक्षा अवधिमा बैंकले १ खर्ब १ अर्ब निक्षेप संकलन गरी ८४ अर्ब ७६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७७ अर्ब ३१ करोड निक्षेप संकलन गरी ६५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले आफ्नो जगेडाकोषको आकारलाई उत्साहप्रद ढंगले बढाएको छ । अघिल्लो वर्षसम्म २ अर्ब २९ करोड मात्र रहेको कोषमा समीक्षा अवधिसम्म ४ अर्ब २७ करोड जम्मा भएको देखिन्छ । यसरी जगेडाकोषतर्फ बैंकले ८६.०८ प्रतिशतको फड्को मारेको देखिएको छ । 

अघिल्लो वर्ष १.१५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.०५ प्रतिशतको अनुपातमा झरेको छ भने समीक्षा अवधिसम्म बैंकमा ७४.२३ प्रतिशतको सीडी रेसियो रहेको देखिएको छ । 

इक्वीटीमा प्रतिफल १४.५६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.५६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष इक्वीटीमा प्रतिफल १४.०३ र स्म्पत्तिमा प्रतिफल १.५४ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.६९ गुणा कायम भएको छ ।