काठमाण्डौ । सिनर्जी फाइनान्सको खूद नाफामा भीषण पहिरो गएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ५ करोड २२ लाख मात्र नाफा कमाएको हो । यो भनेको अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतको गिरावट हो । अघिल्लो वर्ष कम्पनीको नाफा ११ करोड माथि रहेको थियो । 

चुक्तापूँजी नबढे पनि नाफामा भीषण पहिरो व्यहोरेपछि कम्पनीको प्रतिसेयर आम्दानी २३.३१ रुपैयाँबाट घटेर ११.०२ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

कम्पनी व्यवस्थापनले व्यवसाय बिस्तारमा मन लगाउँदा अवस्था यति भयावह देखिएको हो । यहीकारण खूद ब्याज आम्दानीमा समेत गिरावट आएको छ । अघिल्लो वर्ष यही अवधिमा १२ करोड ९१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा १० करोड ५२ लाखमा सीमित हुन पुगेको हो । 
यो अवधिमा सिनर्जीले २ अर्ब २ करोड निक्षेप संकलन गरी १ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८६ करोड निक्षेप संकलन गरी १ अर्ब ६७ करोडको कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म १८ करोडले ऋणात्मक रहेको जगेडाकोषमा केही सुधार भएपछि १३ करोड ३७ लाखले अझै ऋणात्मक नै छ । 

कम्पनीले २१.४४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई केही घटाएर १८.३३ प्रतिशतमा झारेको छ भने १६ करोड ६५ लाखमा सीमित संचालन घाटा बढेर २१ करोड २२ लाख पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७१.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.०६ गुणा कायम भएको छ ।