काठमाण्डौ । हालै आइएलएफसी फाइनान्ससँग मर्जरको अन्तिम सम्झौता गरेको सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई पनि खरीद गर्ने सम्झौता गरेको छ । 

फाइनान्स खरीद सम्बन्धी समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोदबहादुर खत्रीले हस्ताक्षर गरे । 

मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवम् उच्च व्यवस्थापन यथावत हुने समझदारी समेत भएको छ । 

रु २३ करोड चुक्ता पुँजीे रहेको युनिक फाइनान्सको खरिद, आइएलएफसीको समेत गरी सिभिल बैंकको चुक्तापूँजी ५ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । 

यो मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । 

T-24 नामक अत्याधुनिक अपरेटिङ सफ्टवेयर प्रयोग गरेको यो बैंकले आगामी दिनमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लैजाने बताएको छ । 

राष्ट्रबैंकले नीति अनुसार २०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने लगायत सबै विकल्पलाई खुला राखेको सीइओ महर्जनले जानकारी दिए ।