काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४९ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाखमा सीमित थियो । यसरी बैंकले नाफातर्फ ४७.२० प्रतिशतको प्रगति गरेको छ । 

समीक्षा अवधिमा सिभिल बैंकको वितरणयोग्य मुनाफा २२ करोड ३० लाख रहेको छ । 

अघिल्लो वर्ष ५९ करोड ७१ लाखमा सीमित संचालन मुनाफा बढाएर बैंकले ७६ करोड ५७ लाखको उचाई चुमाएको छ भने ९२ करोड ४६ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर १ अर्ब ५७ करोडको उचाई चुमाएको छ । बैंकले खूद ब्याज आम्दानीतर्फ ७०.१९ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा सिभिल बैंकले ३९ अर्ब ९२ करोड निक्षेप संकलन गरी ४१ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ अर्ब २२ करोड निक्षेप संकलन गरी ३८ अर्ब २५ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४८ करोडमा सीमित रिजर्बको आकार बढी १ अर्ब ६३ करोड पुगेको छ भने ३.७४ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर ३.९६ प्रतिशत पुगेको छ । 

यस्तै, ८.८१ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ८.४० प्रतिशतमा सीमित बन्न पुगेको छ भने १२.३६ प्रतिशत रहेको आधार दर घटेर ११.२० प्रतिशतमा सीमित बन्न पुगेको छ। 

अघिल्लो वर्ष ४.८४ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर यो वर्ष ६.१७ रुपैयाँ पुगेको छ । 

यो अवधिमा प्रतिसेयर नेटवर्थ १२५.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.९३ गुणा कायम भएको छ ।