काठमाण्डौ । केही समयअघि आइएलएफसी फाइनान्ससँग मर्जरको सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्टबैंकमा निवेदन पेश गरेको सिभिल बैंक लिमीटेडले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमीटेडलाई खरीद गर्ने भएको छ । 

फाइनान्स खरीद सम्बन्धी समझदारीपत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामांग र हामा मर्चेन्ट एण्ड  फाइनान्स लिमीटेडका अध्यक्ष राजनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

फाइनान्सको प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवम् उच्च व्यवस्थापन यथावत रहने बताइएको छ । 

यसअघि सिभिल बैंकले रु २ अर्ब चुक्तापुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी(आइएलएफसी)लाई गाभ्ने र रु २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ । 

पछिल्लोपटक एक्वायरको सम्झौता गरेको हामा मर्चेन्ट एण्ड फाइनान्सको चुक्तापूँजी २२ करोड रुपैयाँ रहेको छ । सिभिल बैंकको चुक्तापूँजी चाहि ५ अर्ब ५४ करोड रुपैयाँ छ । 

यो प्राप्तिबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजना लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारीअधिकृत किशोर महर्जनले बताए । 

T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा बैंकले स्पष्ट पारेको छ । 

साथै, २०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु¥याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाँभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने सीइओ महर्जनले जानकारी दिए ।