काठमाण्डौ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा चमत्कारी सुधार गरेको छ ।

बैंकद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.५४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

यसैगरी समीक्षा अवधिमा बैंकको कस्ट अफ फन्ड ८.१९ प्रतिशत रहेको छ । गत वर्ष यही अवधिसम्म कस्ट अफ फन्ड ८.२० प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्याइएको छ । 

उता व्यवसाय विस्तारमा पनि सिभिल बैंक निकै आक्रामक देखिएको छ । गत वर्ष बैंकको जम्मा शाखा संख्या ७१ मात्र रहेकोमा चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १०२ पुगेको छ । निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्ने बैंकले जनाएको छ । 

द्रुत गतिमा शाखा विस्तार भएकोले गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केही असर परेको देखिएको छ । बैंकले यसलाई 'क्षणिक असर' मात्र रहेको बताएको छ । भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरु लगायत नयाँ खुल्ने शाखाहरुले  विस्तारै व्यवसाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा गर्न सकिने अवस्था देखिएको छ ।

 

समीक्षा अवधिमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढ्दा बैंकको खुद नाफा भने १५ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ३७ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म घटेर ३१ करोड ६ लाख रुपैयाँमा सीमित बनेको छ । 

यो अवधिसम्म बैंकको कर्मचारी खर्च ६९ प्रतिशत र अन्य सञ्चालन खर्च ३७ प्रतिशतले बढेको छ । बैंकमा हाल ९५९ जना कर्मचारी कार्यरत छन् । गत वर्ष यही अवधिसम्म बैंकमा ७५१ जना कर्मचारी कार्यरत थिए । 

यस अवधिमा बैंकले एटीएम संख्या पनि ८४ वटा पुर्याएको छ । गत वर्ष यही अवधिसम्म बैंकको एटीएम संख्या ४५ वटामात्र थियो । 

दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८१९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३५९ थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जब गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । 

बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो ।