काठमाण्डौ । राजनसिंह भण्डारी बैंकिङ सेक्टरका लागि नौलो नाम होइन । बैंकिङ सेक्टरमा लामो अनुभव बटुलेका भेटेरान बैंकर भण्डारी आफ्नै पहलमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसलबाट सीइओको कार्यकाल सकिएर करिब आठ ८  महिना लामो ‘ब्रेक’ पछि फर्किन लागेका छन् । तर, सीइओको रुपमा होइन, संचालक हुँदै अध्यक्षको रुपमा बैंकको कमान सम्हाल्न । 

भण्डारी सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति सदस्यमा आउँदैछन् । भण्डारी बैंकको शुक्रबार हुन लागेको बार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा आउने पक्का भएको बैंक स्रोतले जनाएको छ । उनी संस्थापक शेयरधनीका तर्फबाट बैंकमा संचालकको रुपमा फर्किन लागेका हुन् ।

सिटिजन्स बैंक भण्डारीकै पहलमा खुलेको हो । उनले करिब १२ वर्ष बैंकको प्रमुख कार्यकारी पद सम्हाले । करिब ८ महिनाअघि उनी बैंक व्यवस्थापकीय नेतृत्वबाट बाहिरिए ।

भण्डारीसँग नेपाल राष्ट्र बैंकमा काम गरेको लामो अनुभव पनि छ । उनी राष्ट्रबैंकको कार्यकारी निर्देशकसम्म भएर बाहिरिएका थिए ।

बैंकस्थित उच्च स्रोतहरुका अनुसार भण्डारी सिटिजन्स बैंकको सञ्चालक हुँदै अध्यक्ष चयन हुनेछन् । बैंकको वर्तमान अध्यक्ष डा. शंकर शर्मा छन् । उनी बैंकबाट बाहिरिँदैछन् ।