काठमाण्डौ । नेपाल बजारमा बुधबार (चैत २२ गते) सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ। 

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि गत चैत ५ गते सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। जुन कीर्तिमान आज तोडिएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलमा १ हजार रुपैयाँले बढेको थियोे। हिजो प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।