गत साता चोरिएको टिफिन बट्टाका साथै एक रुबी र सुनको चियाकपको सेट, र चम्चा पनि प्रहरीले फेला पारेको छ।
ती सामग्री पूर्व हैदरावाद राज्यका अन्तिम निजाम शासकको हो।
हीरा समेत जडित उक्त सुनको टिफिन बट्टाको चोरीबारे छानबिन गरिरहेको प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ।
ती सामानको मूल्य ७० लाख डलर पर्ने ठानिन्छ।
सुरक्षा
हाल सङ्ग्रहालयमा परिणत निजामको दरबारमा राखिएका ती सामग्रीलाई चोरहरूले भन्टिलेटर फोरेर भित्र पसी चोरेको बताइएको थियो।
तिनले सुरक्षार्थ राखिएका सीसीटिभी क्यामराहरूलाई पनि छक्याएको प्रहरीले बताएको थियो।
हैदरावाद राज्यका सातौँ र अन्तिम निजाम मिर ओसमान् अलि खान उनको समयमा विश्वकै सबभन्दा धनीमध्येका एक थिए।
प्रहरीका अनुसार चोरी गरेपछि ती दुवै पुरुष पश्चिमी शहर मुम्बई भागेका थिए।
त्यहाँ उनीहरूले ती सामान किन्ने मानिस भेट्टाउने आशा राखेका थिए।
केही दिन उनीहरू त्यहाँको पाँच तारे होटेलमा ठाँटका साथ बसे।
सो टिफिनबट्टाबाट उनीहरूले खाजा समेत खाएको प्रहरीले जनाएको छ।
तर उनीहरूले किन्ने मानिस भेटेनन् र हैदरावाद नै फर्किए। जहाँ प्रहरीले उनीहरूलाई भेट्टाइछाड्यो।
पहिचान
निजामको दरबारमा राखिएका ३२ वटा सीसीटिभी क्यामेरा सबै उनीहरूले चोर्ने बेला बन्द गरिदिएकाले प्रहरीलाई उनीहरूको पहिचान यकिन गर्न कठिन भएको थियो।
तर एउटा क्यामेराले चाहिँ उनीहरू एउटा मोटरसाइकलमा सवार दृश्य खिचेको रहेछ। पछि प्रहरीले सो मोटरसाइकल बरामद गर्यो र लगत्तै उनीहरूको पहिचान भयो।
सबै भेटिएका बहुमूल्य सामग्रीलाई निजाम सङ्ग्रहालयमा फर्काइनेछ।
मिर ओसमान अलि खानको निधन सन् १९६७ मा भएको थियो।
उनको विशाल वैभव थियो जसमध्ये कैयौँ बहुमूल्य रत्नसहित अण्डा जत्रो आकारको एउटा हीरा विश्वप्रसिद्ध जेकब्स डाइमण्ड पनि एक हो।
-बीबीसीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19