काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ सर्वाधिक उचाइमा पुगेको हो। यो बढोत्तरीसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन तोलामै १ हजार ३०० रुपैयाँ बढ्दै फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३६५ रुपैयाँ कायम भएको थियो। जुन यसअघिकै उच्च भाउ पनि हो।
यसैगरी चाँदीको भाउ पनि आइतबार ५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार १५५ रुपैयाँ कायम भएको छ। चाँदीको यो भाउ हालसम्मकै उच्च पनि हो।
कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19