काठमाण्डौ । सानिमा बैंकले निश्कासन गरेको ऋणपत्र सुपर फ्लप साबित भएको छ । 

यो बैंकको ऋणपत्रमा निकै न्यून आवेदन परेसँगै आवेदन बन्द गरिएको बिक्री प्रबन्धक काठमाण्डौ क्यापिटलले जनाएको छ । 

बैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी निश्कासन गरेको ऋणपत्रमा आवेदन दिने सोमबार अन्तिम दिन थियो । यो अवधिसम्म बैंकको ऋणपत्रमा २ हजार ७ सय ८३ आवेदकबाट १ लाख ३५ हजार ७ सय ३७ कित्ताका लागि मात्र आवेदन परेको हो । 

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्ता सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तवरले खरीद गर्नेहरुलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणका लागि सुरक्षित गरिएको कुल कित्तामध्ये करिब ६६ प्रतिशत ऋणपत्र बिक्री भएन । तर, बिक्री नभएको यो कित्ता अन्य कित्तासँगै आगामी दिनमा पुनः निश्कासन गर्न पाउने विकल्प सानिमासँग बाँकी नै छ । 

सानिमाको ऋणपत्र कात्तिक ३० गतेदेखि बिक्री खुल्ला भएको थियो । बिक्री खुल्ला भएको डेढ महिनाको अवधिसम्म पनि सबै कित्ता बिक्री नभएको हो । 

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनमा ल्याएको थियो ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

दश वर्षे अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा दिने भनिएको ब्याजको अर्धवार्षिक भुक्तानी गरिने बताइएको छ ।