– अर्जुन तिमिल्सिना

काठमाण्डौ । ग्रामीण बस्तीलाई आधार बनाएर स्याङ्जाको वालिङमा प्रधान कार्यालय राखेर गरिमा विकास बैंक २ करोड ६५ लाख पुँजीका साथ २०६४ सालमा स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र पाल्पा गरी ३ जिल्ला कार्य क्षेत्र बनाएको यो बैंक हाल राष्ट्रियस्तरको बनेको छ। हाल काठमाण्डौ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकका राजधानीभित्र र बाहिर गरेर १४१ शाखा कार्यालय छन्।

आधारभूत पक्ष

गत आर्थिक वर्षको चौथो त्रैमासम्म गरिमा विकास बैंकको चुक्तापुँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियम ४४ लाख १५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ ५५ करोड ७२ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब ६४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.४७ रुपैयाँ, रिटर्न अन इक्विटी १५.७ प्रतिशत, प्रतिसेयर वित्तरणयोग्य मूनाफा १०.७४ रुपैयाँ र खराब कर्जा अनुपात (एनपीएल) १.५५ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा

फियर एन्ड ग्रिड मिटरका आधारमा गरिमा विकास बैंकको सेयर हाल साप्ताहिक रुपमा बियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ। फियर एन्ड ग्रिड मिटरमा यदि २० भन्दा तल भएमा बियरिस, ५० को आसपासमा भएको खण्डमा न्युट्रल सेन्टिमेन्ट र ८० भन्दा माथि भएको खण्डमा बुलिस सेन्टिमेन्ट भन्ने हो। हाल यो बैंकको सेयर २० को आसपासमा रहेको छ। 

बैंकको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ४१६ रुपैयाँ र न्यून मूल्य ३३८ रुपियाँ रहेको छ। बैंकमा ४९ प्रतिशत सर्वसाधरण र ५१ प्रतिशत संस्थापक समूहको सेयर स्वामित्व रहेको छ।

 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा

गरिमा विकास बैंकको सेयरको मूल्यरेखालाई बोलिंगर ब्यान्डमार्फत डेली बेसमा हेर्ने हो भने एकपटक अपर ब्यान्डमा छोएर खसेपछि करिब लोवर ब्यान्डसम्म आएको देखिन्छ। त्यहाँबाट माथिको यात्रा तय गरेको यो बैंकको सेयरभाउले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। यदि आगामी कारोबारमा मध्य ब्यान्ड ब्रेक गरेर माथि गएमा यो बैंकको सेयरभाउले अप ट्रेन्ड लिन सक्छ। 

म्याक्डीमार्फत गरिमा विकास बैंकको सेयरभाउलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, हिस्टोग्रामा छोटा–छोटा हुँदै गएका छन्। म्याक्डीमा बुलिस क्रसओभर नभइसकेको तर छिट्टै हुन सक्ने सम्भावना देखिन्छ। आरएसआई हाल ५२ को न्युट्रल जोनमा अप ट्रेन्डमा रहेको छ। 

समग्रमा तीनवटै इन्डिेकेटरबाट हेर्दा यदि गरिमा विकास बैंकको सेयरभाउ ३९५ रुपैयाँभन्दा माथि–माथि चलेमा बुल रनमा रहेको मान्न सकिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

डेली बेसमा गरिमा विकास बैंकको सेयरभाउलाई सुपर ट्रेन्डमार्फत हेर्दा  हालसम्म पनि बुलिस नै रहेको देखिन्छ। मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि नै चलेका छन्। सुपर ट्रेन्डको रङ पनि हरियो नै रहेको छ। यो आधारमा बैंकको सेयरभाउ सुपर ट्रेन्डमा डेली बेसमा बुलिस नै रहेको देखिन्छ। यसले दीर्घकालीन लगानीकर्तालाई खरिदको अवसर पनि देखाउँछ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –४१०
  • प्रतिरोध २ –४०१
  • प्रतिरोध १– ३९३

पिभट प्वइन्ट: ३८४

घटेमा सपोर्ट

  • सपोर्ट १– ३७६
  • सपोर्ट २– ३६७
  • प्रतिरोध ३ –३६०

निष्कर्ष

विकास बैंकहरुमा गरिमा आधारभूत रुपमा ठीकै रहेको देखिन्छ। यो बैंकको रिटर्न अन इक्विटी १५.७ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी २३.४७ रुपैयाँ र वितरणयोग्य क्षमता प्रतिसेयर १०.७४ रुपैयाँ रहेको यो बैंकको सेयर अल्पकालीन र दीर्घकालीन दुवैखाले लगानीकर्ताका लागि उपयुक्त देखिन्छ। 

प्राविधिक रुपमा हेर्दा गरिमा विकास बैंकको सेयर फियर एन्ड ग्रिड मिटरमा बियरिस सेन्टिेमन्ट देखिन्छ। तर, सुपर ट्रेन्डमा भने बुलिस नै रहेको छ। पिभट प्वइन्टबाट हेर्दा ३८८ रुपैयाँमा अन्तिम सेयर कारोबार भएको यो बैंकको सेयरभाउ पिभट प्वइन्टभन्दा माथि–माथि नै चलेको छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा गरिमा विकास बैंकको सेयरभाउले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यदि मध्य ब्यान्डबाट अर्थात ४०० रुपैयाँभन्दा माथि जान्छ भने बुल यात्रा तय गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।