काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच सम्पन्न गरेको छ। 

कार्यक्रम सुर्खेतस्थित होटेल बुलबुलेको सभाहलमा १६१ जना समूह अध्यक्षहरुको उपस्थितिमा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षित दिएका थिए। 

शाखामा भएका कुल १८२ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको देवकोटाले बताए। 

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख विशेश्वर विष्टले स्पष्ट पारेका थिए। 

कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग सामूहिक प्रयासका लागि विष्णुकुमारी शाहीको अध्यक्षतामा समितिसमेत गठन गरेको कार्यक्रम सञ्चालक लक्ष्मण शाहीले बताए। 

कार्यक्रममा मध्यपश्चिम विश्वविध्यालयका प्राध्यापक कमलबहादुर सिंहको समेत उपस्थिति थियो। कार्यक्रम चन्द्रकली गौतमको सभापतित्वमा सञ्चालन भएको थियो।