काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनी मालामाल हुने भएका छन् । यो लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७४/७५ को खूद नाफाबाट लगानीकर्तालाई ४२.७५ प्रतिशतको बम्पर बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

यो बित्तीय संस्थाको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक २.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

गत बर्ष पनि संस्थाले २० प्रतिशत बोनस शेयर दिएको थियो। 

संचालक समितिको यही बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको निर्णय समेत गरेको छ । 

यसको अर्थ सेयरधनीले बोनस सेयरसँगै हकप्रदको अफर समेत प्राप्त गर्नेछन् । 

हाल संस्थाको चुक्तापूँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको छ । घोषित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर १० करोड ७९ लाख पुग्नेछ । 

त्यसपछि ५० प्रतिशत हकप्रद बिक्री गरी सूर्योदयले चुक्तापूँजीलाई १६ करोड १८ लाखको उचाईमा पुर्याउनेछ । 

दुवै निर्णय नियामकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।