काठमाण्डौ । राष्ट्रबैंकले तोकेको समयसीमाभित्र पूँजी वृद्धिका लागि आक्रामक योजनासहित अगाडि बढेको देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले अर्को विकास बैंकलाई पनि एक्वायर गर्ने भएको छ । 

तीनजिल्ले इनोभेटिभ डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया जारी रहेकै अवस्थामा सेञ्चुरी कमर्सियल बैंकले धुलीखेलमा केन्द्रीय कार्यालय रहेको १० जिल्ले विकास बैंक अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता गरेको हो । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्र वाणिज्य बैंकले चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने नीति लिएपछि सो अवधिमा तोकिएको पूँजी पुर्याउन यसबेला बैंक तथा बित्तीय संस्थाहरुलाई चटारो छ । 

अरिनलाई एक्वायर गर्ने प्रक्रिया २०७३ माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अनुजमनि तिम्सिनाले जानकारी दिए । 

हाल सेञ्चुरी बैंककोे कुल चुक्तापूँजी २ अर्ब ८४ करोड रुपैयाँ छ । यो बीचमा यो बैंकले थप रु. ८५ करोडको हकप्रद शेयर जारी गरिसकेको छ । त्यसैगरी, बैंकको असोज ३०, २०७३ सम्म कुल निक्षेप रु.३१.४२ अर्व र कर्जा रकम रु. २७.४१ अर्व रहेको छ । सेञ्चुरी बैंकले २९.०५ करोड चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रक्रिया जारी नै छ । 

सेञ्चुरी बैंक र अरनिको डेभलपमेन्ट बैंकको गत आ.व.को मुनाफा आफ्नै पूँजीमा बाँडेर समाहित हुने हुँदा एकीकृत कारोबारपछि सेञ्चुरी बैंकको पूँजी रू. ५ अर्ब भन्दामाथि पुग्नेछ । त्यसैगरी, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ सेवा प्रदान गर्नेछ ।

त्यसपछि राष्ट्रबैंकले तोके अनुसार पूँजी अन्य कुनै संस्था खरीद गरेर वा हकप्रद जारी गरी तथा बोनस वितरणबाट समेत पुर्याउने लक्ष्य लिइएको बताइएको छ ।