काठमाण्डौ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्ट कम्पनीको बजार पुँजीकरण अहिले २ ट्रिलियन अमेरिकी डलर पुगेको छ। 

अमेरिकी सेयर बजारमा गत मंगलबार माइक्रोसफ्टको सेयर मूल्यमा १.२ प्रतिशतको उछाल आएको थियो। कम्पनीको सेयर मूल्यमा आएको उक्त उछालसँगै कम्पनीको कुल पुँजीकरण २ ट्रिलियन अमेरिकी डलर पुगेको हो। सन् २०१९ मा बजार पुँजीकरण १ ट्रिलियन भएको माइक्रोसफ्टको २ वर्षमै बजार पुँजीकरण २ ट्रिलियन भएको हो।

कोरोना कहर सुरु भएसँगै माइक्रोसफ्टको विक्री साथै उत्पादनमा ठुलो उछाल आएको छ। विज्ञहरूका अनुसार बजारमा कम्प्युटर, मोबाइललगायत अन्य डिजिटल उपकरणहरूको माग साथै बिक्री उच्च भएकाले कम्पनीको नाफामा बढेको हो। अन्य कम्पनीहरू बन्द हुने अवस्थामा पुगेको बेला माइक्रोसफ्टले यस वर्षमात्र १९ प्रतिशत नाफा कमाएको छ।

यसअघि अमेरिकाको एप्पल कम्पनीको बजार पुँजीकरण २ ट्रिलियन डलर पुगेको थियो। सन् २०१८ मा २ ट्रिलियन पुगेको एप्पलको अहिले बजार पुँजीकरण अहिले २.२३१ ट्रिलियन अमेरिकी डलर छ। बजार पुँजीकरण २ ट्रिलियन डलर पुग्ने दौडमा अहिले अमेरिकी कम्पनी अमेजन र गुगल पनि छन्। अहिले अमेजन र गुगलको बजार पुँजीकरण क्रमशः १.७७ र १.६७ ट्रिलियन डलर रहेको छ। – एजेन्सी