काठमाण्डौ । लाभांश घोषणासँगै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेका एभरेष्ट र एनआइसी एशिया बैंकको नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । 

सोमबार एक सूचना प्रकाशित गर्दै नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । 

एभरेष्ट बैंकले घोषणा गरेको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएर प्रतिकित्ता ५१४.५५ रुपैयाँ कायम भएको छ । 

दोश्रो बजारमा एभरेष्टको मूल्य समायोजनअघिको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ रहेको थियो । 

यस्तै, २९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको एनआइसी एशिया बैंकको समेत सेयरमूल्य समायोजन भएको छ । 

समायोजित सेयरमूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । 

यो बैंकको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ रहेको थियो । 

सेयरमूल्य समायोजन हुँदा समेत दोश्रो बजारमा एनआइसी एशियाकै मूल्य वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा बढी हुने देखिएको छ । किनभने नवील बैंकको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ रहेको छ । 

दोश्रो बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य प्रतिकित्ता ५४३ रुपैयाँ रहेको छ । 

स्मरणरहोस्, गत वर्षको वितरणयोग्य मुनाफाबाट नवील र स्ट्याण्डर्ड चार्टर्डले लाभांश घोषणा गरिसकेका छैनन् । लाभांश घोषणापछि बोनस सेयर प्राथमिकतामा परे यी कम्पनीको मूल्य पनि समायोजन भई अझ घट्नेछ ।