काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरेको छ। 

बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि निर्देशन जारी गरेको हो।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जाको ४–१२ को नीति संशोधन गर्दै ४ खारेज गरेर १२ मात्र कायम राखेको थियो । मौद्रिक नीतिको सोही व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो। 

आज जारी निर्देशनमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको उल्लेख छ। २०७८ भदौ ८ गतेपूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ। 

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेरमात्र कर्जा प्रवाहरनवीकरण गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ। तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशनमा भनिएको छ।