काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक हुने दिन शुक्रबार बिहानै मिडियाहरुमा एउटा समाचार आयो-गाडीकर्जाको सीमा पनि १० प्रतिशतले बढ्ने भयो । मौद्रिक नीति तयार भइसकेकोले त्यहाँ गाडी कर्जाको सीमा बढेर ६० प्रतिशत पुगेको समाचारले अटोमोवाइल व्यवसायी उत्साहित बने । अब कुल मूल्यको ४० प्रतिशत रकम डाउनपेमेन्टको रुपमा बुझाएर जस्तो पनि गाडी चढ्न पाइने खबरले सर्वसाधारण पनि केही खुशी नै भए ।
मिडियाहरुलाई राष्ट्रबैंकका एक उच्च तहका अधिकारीले यो विषयमा जानकारी गराएका थिए । उनले भनेका थिए–‘आवासीय घर कर्जाको सीमा पनि बढ्यो। अटोलोनको सीमा पनि बढ्यो । सेयर धितो कर्जाको सीमा पनि ५ प्रतिशतले बढ्यो ।’
केन्द्रीय बैंकका जिम्मेवार अधिकारीले सूचना दिएपछि समाचार नबन्ने कुरै भएन । समाचार बन्यो । धेरै संचारमाध्यमहरुले यसलाई समाचारको हेडलाइन बनाए ।
दिउँसो ३ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गरे । व्यग्रताका साथ आफ्नो व्यवसायको पक्षमा कुनै नीति आउला वा समाचारमा आएजस्तो अटोलोनको सीमा बढेको घोषणा होला भन्ने प्रतिक्षामा रहेका अटोमोवाइल व्यवसायीहरु मौद्रिक नीतिका कारण खिन्न बने ।
निकै आश्चर्यजनक ढंगले अटोलोनको सीमा बढाइएको बुँदा मौद्रिक नीतिबाट गायब भएको थियो । राष्ट्रबैंकका ती उच्च अधिकारीले दिएका सूचनामध्ये सबै मौद्रिक नीतिमा आए, तर अटोलोनको सीमा बढेकै विषय चाहि गायब भयो । त्यसपछि खोजी सुरु भयो, अटोलोनको सीमा बढाउने भनी मौद्रिक नीतिमा हालिसकिएको बुँदा कसको स्वार्थमा मेटियो ?
बिजशालाको खोजको क्रममा अटोमोवाइल व्यवसायीलाई निराश पार्ने गरी अटोलोनको सीमा बढेको बुँदा अर्थमन्त्रीको निर्देशनमा मेटिएको पत्तो लागेको छ ।
मौद्रिक नीति तयार भइसकेपछि शुक्रबार बिहान ८ बजे नेपाल राष्ट्रबैंकको बोर्ड बैठक बसिरहेको थियो । सोही बैठकमा अर्थमन्त्रीका ज्वाइँ रामशरण खरेल ‘अर्थमन्त्रालयको एउटा प्रिजेन्टेसन छ’ भन्दै त्यहाँ पुगेका थिए । राष्ट्रबैंकको बोर्ड बैठकमै उनले मौद्रिक नीतिमा के के हुनुपर्छ, के के हुनुहुँदैन भन्दै अर्थमन्त्रीले पठाएका अजेण्डाको रुपमा आफ्नो प्रिजेन्टेसन दिएका थिए । समाचारमा भाइरल भइसकेको अटोलोनको सीमा बढाउन नहुने अर्थमन्त्रीको सन्देश रहेको उनले सोही क्रममा सुनाएका थिए । अर्थमन्त्रीको दूतको रुपमा आएर प्रिजेन्टेसन दिएपछि उनले भनेका कुरा राष्ट्रबैंकको बोर्डले काट्न सकेन र मौद्रिक नीतिमा परिसकेको बुँदा हटाइयो(मेटियो) ।
यसरी हेर्दा अर्थमन्त्रीको रुपमा नियुक्त भएपछि सेयर बजारको विषयमा नकारात्मक टिप्पणी गर्दै सेयरबजारमा बक्रदृष्टि लगाएका अर्थमन्त्री डा. खतिवडाले यसपटक भने अटोमोवाइल क्षेत्रमाथि प्रहार गरेका छन् । उनले कतिपय कार्यक्रमहरुमा अटोमोवाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्ने गरेका छन् । यही तर्कसहित उनले अघिल्लो वर्षदेखि नै अटोलोनको सीमालाई संकुचन गरिदिने काम गरेका थिए । उनको बक्रदृष्टिको निरन्तरताको रुपमा योपटक पनि बढिसकेको अटोलोनको सीमा सम्बन्धी बुँदा मेट्ने काम गरिएको हो ।
अर्थमन्त्रीले बजेटमार्फत विद्युतीय गाडीको राजश्व, भन्सार तथा कर एकाएक बढाएपछि त्यसको कडा आलोचना भएको थियो । बजेटबाटै अटोमोवाइल क्षेत्रमाथि बक्रदृष्टि लगाउन सुरु गरेका डा. खतिवडाले मौद्रिक नीतिमा समेत हस्तक्षेप गरी अटोमोवाइल क्षेत्रलाई पीडा दिने काम गरेका देखिएको छ ।
मौद्रिक नीतिमा परिसकेको बुँदा हटेपछि नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आपत्ति जनाइसकेको छ । एकदुई दिनमा उसले पत्रकार सम्मेलन नै आयोजना गरेको यसको औपचारिक रुपमै विरोध गर्दैछ । तर, उसले उठाएका अटोलोनको सीमा बढाउनुपर्ने माग सम्बोधन हुनका लागि अर्थमन्त्री नै सकारात्मक हुनुपर्ने देखिन्छ । डा. खतिवडाको अटोमोवाइल क्षेत्रको विषयमा रहेको संकुचित धारणामा सुधार नभएसम्म अटोमोवाइल व्यवसायीले पनि सेयर बजारका लगानीकर्ताले झै पीडा भोग्नुपर्ने अवस्था देखिएको छ ।
अहिले बैंकिंग प्रणालीमा तरलता फालाफाल छ । कोभिड १९ का कारण सबै क्षेत्र सुस्ताएका कारण लगानीको वातावरण बन्न सकेको छैन । जसले बैंकहरुमा कर्जाको माग ह्वात्तै घटेको छ । यस्तो बेलामा अधिक तरलताको सदुपयोग हुने गरी अटोलोनको सीमा बढाउन खोजिएको थियो । बैंकमा थुप्रिएको रकम लगानी हुन थालोस् भन्ने उद्देश्यले व्यक्तिगत आवासीय कर्जाको सीमा पनि बढाइएको हो । यही उद्देश्यले अटोलोनको सीमा पनि बढाइएको थियो, तर अन्तिम अवस्थामा एकाएक काटिएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago