काठमाण्डौ । किनबेच भएको सेयर संख्यालाई भोलुम अर्थात परिमाण भनेर बुझिन्छ। यही संख्यालाई बजारमूल्यले गुणा गरेर आउने नतिजालाई कारोबार भनेर बुझिन्छ।

भोलुम तथा कारोबारको विश्लेषणबाट पनि आगामी दिनको बजारको ट्रेन्ड पत्ता लगाउन सकिन्छ। सेयरको भोलुमले माग तथा आपूर्तिलाई संकेत गर्छ। जस्तै– बजारको बढ्दो टे«न्डमा सेयर कारोबारको संख्या औसतभन्दा बढी हुन्छ। 

घट्दो ट्रेन्डमा पनि बजारले बाटो परिवर्तन गर्दा त्यो अवस्थामा पनि सेयरको भोलुम र कारोबार दुवै बढेको हुन्छ। बजारको घट्दो ट्रेन्ड रहेको बेला सेयरको औसतभन्दा कम कारोबार भएको हुन्छ। 

पछिल्लो २ दिनमा सेयर कारोबार एक अर्ब रुपैयाँभन्दा तल अर्थात औसत भोलुमभन्दा तल कारोबार भएको छ। यसले बजार घट्दो ट्रेन्डमा रहेको बुझिन्छ। 

आज दिनभरको कारोबारलाई १५ मिनेटको चार्टमा हेर्दा अन्तिम समयमा भोलुम तथा कारोबार बढेको देखिन्छ। नेप्सेको विगतको कारोबारलाई हेर्ने हो भने कारोबार १ अर्ब रुपैयाँभन्दा तल भएर भोलुम ड्राई भएपछि बजारले पुनः लय समातेको देखिन्छ। किनकि बेच्नेहरु घटेर सेयर बेच्न नमान्दा आपूर्ति घट्ने हुन्छ।

माग र आपूर्तिको नियमानुसार आपूर्ति घट्दै जाँदा समान मागमा पनि बजार  बढ्ने गरेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।