काठमाण्डौ । सेयरबजारमा लगानी गर्नेहरुले विदेशिने सोचमा रहेको आजभोलि बताउन थालेका छन् । 

यस्तो कथा र व्यथा, यसअघि ब्रोकर हाउसमा भेटिने गरेका कतिपय लगानीकर्ताहरुबाट सुनिदै आएको । एक जना लगानीकर्ता भन्दै थिए, ‘अब सेयर बजारमा टिक्न मुस्किल भयो । केही समयको लागि विदेशिनु नै उत्तम हुन्छ ।’ अर्का एक जना लगानीकर्ता पनि भन्दै थिए, ‘मैले कोरिया बसेर आएको सबै पैसा सेयरबजारमा लगाएँ तर लगानी अहिले सबै डुब्न लाग्यो ।’

वास्तवमा यी सबै वित्तीय तनावका उपच हुन् । दौडधुप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनयापनमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सीमित तलब अर्थात् पैसाले घर व्यवहारका असीमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि ।

विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न तर केही हदसम्मको तनावले उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ ।

हामीलाई काममा रचनात्मक हुन र नयाँ विचारहरू ल्याउन नदिने सबैभन्दा ठूलो अवरोध तनाव रहेको अध्ययनकर्ताहरूले निष्कर्ष निकालेका छन्।उनीहरुको ठम्याई छ, ‘तनावग्रस्त व्यक्तिहरू रचनात्मक हुन सक्दैनन्।’

आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले आज यो वित्तीय सचेतनाको श्रृंखलामा केही टिप्स प्रस्तुत गरेका छौं।
१.वित्तीय तनावको स्रोत खोज्नुहोस्
 तपाईले सबैभन्दा पहिला वित्तीय तनावको स्रोत के हो पहिचान गर्नुपर्दछ । यसको खोजी गर्नुनै पहिलो उत्तम कदम हो ।किन कि  आजभोलि किन तपाईले वित्तीय तनावको अनुभव गरिरहनु भएको छ ।यो नै तनाव कम गर्ने यो सबैभन्दा सरल उपाय हो।
२. बजेट निर्माण
कतिपयको बानी हुन्छ, आम्दानी भन्दा खर्च धेरै । ‘आम्दानी चार आना, खर्च रुपैयाँ’ भन्ने नेपाली उखान त्यसै प्रचलनमा आएको होइन । यो भनेको आफ्नो आय आम्दानीको आधारमा बजेट निर्माण गर्नु जरुरि हुन्छ । र यसैअनुसार खर्च गर्ने बानीको विकास गर्दै जानु पर्दछ ।
३. इमरजेन्सी फन्ड
कहिले काहिं आपत्कालिन अवस्था सृजना हुन सक्दछ । यस्तो अवस्थामा पैसा जुटाउन निक्कै गाह्रो हुन्छ । त्यसैले समयमै बचत खाता या म्युचुअल फन्ड जस्ता फन्ड स्थापित गरेर पनि तपाईले आकस्मिक परिस्थितिमा सहायता पाउन सकिन्छ ।
४.थप पैसा कमाउने तरिकाहरू खोज्ने
तपाई खर्च कम गर्न सक्नुहुन्छ तर नगरिकन नहुने खर्च गर्न कदापी सक्नुहुन्न ।  त्यसैले केबल मासिक आम्दानी या तलवमा मात्र निर्भर नभईकन अन्य आम्दानीको स्रोतको पहिचान गरेर त्यसतर्फ आजैबाट काम गर्न थाल्नु होस । यसको अर्थ एउटै व्यवसायमा मात्र होइन बहुमुखी व्यवसायमा पनि हात हाल्नुहोस । 
५.समयमै आफ्नो बिल तिर्नुहोस्
कतिपय मानिसहरु महिनाको अन्त्य हुन लागिसक्दा बिजुली,पानी, इन्टरनेट,टेलिफोन, सरसफाई जस्ता धेरै बिलको भुक्तानी गर्न असमर्थ हुन्छन् वा भइरहेका हुन्छन् । उनीहरु यात शुरुमा बिल भुक्तानी गर्न भुल्दछन् यात चाहँदैनन् । यस्तो बानी छ भने त्यागेर समयै बिल तिर्नुहोस । यसले जरिवाना तिर्नबाट बचाउँछ ।

६.बचत
सबैलाई पैसा बचाउने इच्छा हुन्छ तर सकिरहेका हु्ँदैनन् ।यदि फजुल खर्च नगर्ने हो वा समयमै बचत गर्ने बानी बसाल्ने हो भने कठिन परिस्थितिमा यसरी बचत गरेको पैसाले ठू्रलो सहायता पुरयाउँदछ । 
७.वित्तीय विशेषज्ञहरुसँग परामर्श
यदि तपाई पैसा भएर पनि बचत गर्न सकिरहनु भएको छैन भने वित्तीय विशेषज्ञहरुसँग यसबारे परामर्श लिन सक्नुहुन्छ । उनीहरुसँग परामर्श लिएर बचत गर्ने बानीको विकास गर्न सकिन्छ ।र अर्को कुरा उनीहरुबाटै सुरक्षित भविष्यका लागि कहाँ- कहाँ लगानी गर्न सकिन्छ भन्ने बारे जान्न/ बझ्न पनि सकिन्छ ।त्यसैले जान्ने/बुझ्ने सरल काम तपाईंले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा हुनसक्छ।

यसका अतिरिक्त अध्ययनकर्ताहरूले डिजिटल उपकरण नचलाउने दिन बनाउन पनि लगानीकर्ताहरुलाई सुझाव दिएका छन् । आजभोलि अधिकांश लगानीकर्ताहरु मोबाइल फोनमा आउने फेक न्यूजको शिकार भइरहेका छन् । यसका लागि तपाईंले कम्तिमा सातामा एक दिन भएपनि मोबाइल फोन, ट्याबलेट वा कम्प्युटरजस्ता डिजिटल सामग्री प्रयोग गर्नबाट आफूलाई रोक्नुपर्छ।

यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाईंलाई यसअघि थाहा नहुन पनि सक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरु त छँदैछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाईंको तनाव अवश्य पनि दूर हुन सक्छ । -एजेन्सीहरुको सहयोगमा