काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २७.७५ अंकले बढेर २ हजार २२.३५ को विन्दुमा बन्द भएको छ ।

आइतबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ३८१.०७ को विन्दुमा पुगेको छ। यसअघि बजार गत असोज १० गते २ हजार विन्दुबाट तल खसेको थियो ।

आज नेप्सेमा सूचीकृतमध्ये २९५ कम्पनीका १ करोड ७१लाख ६६ हजार ४६५ कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँबराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन करिब ३ अर्ब हाराहारीमा कारोबार भएको थियो । 

आजको बजारको विषयमा बजार जानकार महेश रिजाल भन्छन्, ‘आज बजार ठूलो अंकको गिरावट भएर पनि अन्त्यमा दोहोरो अंकले बढ्नु सकारात्मक हो ।बजारलाई बुलिस भएको मान्न सकिन्छ । बजारले विस्तारै नकारात्मक खालका समाचारहरुलाई पनि पचाउँदै गएको देखिन्छ ।ब्याजदर घट्दै जानु र नियामकको नीतिमा पनि सहजता आउँदै जानुले बजार बुलिस हुँदै गएको बुझ्न सकिन्छ ।आज कारोबार बढ्नुले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु बजार पसेको बुझ्न सकिन्छ ।’

उनका अनुसार बैंकहरुले सेयर धितोकर्जा पनि सहज बनाउँदै गएकाले बजारले अब अपट्रेन्ड लिने निश्चित छ ।

अर्का बजार जानकार निमानन्द कणेंल करेक्सन लिंदै आज बजार बढेको बताउँछन् ।उनी भन्छन्, ‘आज नयाँ लगानीकर्ताहरु शुरुमा डराएर बजार घटेको थियो,तर बढेर नै छाड्यो। तरलता सहज हुनु र ब्याजदर घट्नु जस्ता कारणले बजार बढेको हो ।आजको कारोबारले पनि अबको बजार बुलिसतर्फ जाने संकेत गर्दछ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये ट्रेडिङ, म्युचुअल फन्ड र बैंकिङ समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ ।
 यो दिन सबैभन्दा बढी  हाइड्रोपावर समूह ५.५५ प्रतिशतले बढेको छ । यसैगरी, दोस्रोमा इन्भेष्टमेन्ट समूह ३.१२ प्रतिशतले बढेको छ ।

त्यस्तै विकास बैंक समूह २.६५ प्रतिशतले बढेको छ ।यसैगरी, यो दिन अन्य समूह सबैभन्दा बढी २.०७ प्रतिशतले घटेको छ ।

त्यसैगरी वित्त समूह १.८१ प्रतिशतले बढेको  छ। यसैगरी, यो दिन बैंकिङ समूह ०.६७ प्रतिशतले  घटेको  छ। त्यस्तै म्युचुअल फन्ड समूह ०.४२ प्रतिशतले घटेको  छ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावरको २५ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै सोनापुर आयल एन्ड मिनरल्सको १६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

त्यस्तै  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यसैगरी शिवम सिमेन्ट्सको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अरुन कावेलीको १२ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन १३ ओटा अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा बोटलर्स नेपाल (बालाजु), रिडी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी पावर,विन्ध्यबासिनी, सगरमाथा जलविद्युत्, भूगोल इनर्जि डेभलपमेन्ट, रावा इनर्जि, थ्री स्टार हाइड्रोपावर, हाथवे, युनियन हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी रहेका छन् ।

त्यस्तै, यो दिन हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.७७ प्रतिशतले घटेको छ । यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.०४ प्रतिशतले घटेको  छ।

त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.९३ प्रतिशतले घटेको छ ।