काठमाण्डौ । बैंकिङ्ग पहुँच वृद्धि तथा सेवा बिस्तारको क्रममा सिद्धार्थ बैंकको आक्रामक मूभ देखिएको छ । 

यो बैंकले बैशाख २३ गते आइतबार देशका विभिन्न क्षेत्रमा ८ वटा नयाँ शाखा एकसाथ संचालनमा ल्याएको हो । 

रौतहटको माधवनारायण, तनहुँको दुलेगौडा, नवलपुरको गैंडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता तथा कारोवार संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बताइएको छ । यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । 

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर १०८ वटा शाखा (३ एक्सटेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ एटीएम र ६८७ पीओएस मेसिन मार्फत्सेवा प्रदान गर्दै आएको छ । 

आर्थिक वर्ष २०७४/०७५ को चैत्र मसान्तसम्म बैंकले कुल निक्षेप रु.९० अर्ब ४० करोड र कर्जा लगानी रु. ८१ अर्ब १७ करोड गरेको छ भने सोही अवधीमा बैंकले २ अर्ब ४ करोड खुद मुनाफा आर्जन गरेको छ ।