काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले एकैपटक १४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । 

बुटवलको वुद्धपथमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले दाङको हेकुली र कमेरेचौर, पूर्वी रुकुमको रुकुमकोट,जाजरकोटको खलङ्गा, स्याङ्जाको चापाकोट र मीर्मी, सुर्खेतको देउती, जामुनेबजार, बांगेसिमल, मेहलकुना र बाबियाचौर, रुपन्देहीको मझगावा, कपिलवस्तुको पकडी, अर्घाखाँचीको ठाडामा  शाखा विस्तार गरेको छ भने वित्तीय संस्थाको कुल शाखा संख्या ५४ पुगेको छ । 

वित्तीय संस्थाको चुक्तापुँजी १२ करोड ६० लाख रहेको छ भने कार्यक्षेत्र १५ वटा जिल्लाहरु  रुपन्देही, नवलपरासी, पाल्पा, स्याङ्गजा, कपलिबस्तु, दाङ्ग, सल्यान, प्युठान, रोल्पा, पूर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, सुर्खेत, अर्घाखाची, गुल्मी रहेका छन् । 

बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रहरुमा आफ्ना शाखा तथा कार्यक्रम संचालन गर्दै आएको यस वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको आवश्यक्ता र चाहनालाई ख्याल राखी कर्जा तथा बचत सेवामा विविधिकरण गर्दै सदस्यहरुको हितहुने खालका अन्य कार्यक्रमहरु विस्तार गर्ने रणनीति लिएको प्रमुखकार्यकारी अधिकृत लक्ष्मण घिमिरेले बताए ।

वित्तीय संस्थाले विभिन्न बीमा कम्पनीहरुको कर्पोरेट एजेन्ट भई सदस्यहरुको जीवन बिमा, बालीनाली तथा पशुपंक्षीहरुको बिमा, कर्जाको वीमा जस्ता कार्यक्रमहरु संचालन गरी ग्राहक सदस्यहरुको हितलाई तथा व्यापार ब्यवसायलाई सुरक्षा प्रदान गर्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

वित्तीय संस्थाले विभिन्न रेमिट्यान्स कम्पनीहरुको सब एजेण्ट भई रेमिट्यान्सको पनि कार्य गर्दै आएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न भावी दिनमा मोबाइल बैंकिङ्ग, एबिबिस, एसएमएस नोटिफिकेशन, चेकको प्रयोग जस्ता कार्यक्रमहरु गर्न खोजिएको घिमिरेले जानकारी दिए । 

यो लघुवित्तले निकट भविष्यमा सर्वसाधारणलाई ५,४०,००० कित्ता शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । संस्थाले २०७५ असार मसान्तसम्म ४० वटा शाखामार्फत २६६०४ जना ग्राहक सदस्यलाई वित्तीय सेवाहरु प्रदान गरिरहेको छ भने ७८ करोड ५२ लाख उठाउन बाँकी कर्जा र तिनीहरुबाट २२ करोड बचत संकलन गरेको छ र कुल नाफा १ करोड ६२ लाख रहेको छ ।