काठमाण्डौ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा सिद्धार्थ बैंकले २०७४ माघ ७ गते आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा एकै साथ ४ वटा शाखा स्थापना गरेको छ । 

यी शाखाहरु मार्फत नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकको नीति बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता तथा कारोबार समेत संचालन हुने बैंकले जनाएको छ ।

त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बताइएको छ । 

यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पहुँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । 

विभिन्न नयाँ शाखाहरुको स्थापनाका साथै बैंकले गठ्ठाघर शाखालाई पर्याप्त पार्किङ्ग र ग्राहकमैत्री  वातावरणसहितको गठ्ठाघरमै अवस्थित नयाँ आधुनिक भवनमा स्थानान्तरण गरेको छ । 

आइतबार एक कार्यक्रमकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन गरे ।

हालै सञ्चालनमा आएका शाखाहरुसहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८६ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।