– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । दोस्रो बजारमा कारोबारमा रहेका १८ वटा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक पनि एउटा हो। यो बैंकले सन् २०१२ देखि विभिन्न फाइनान्स कम्पनी र विकास बैंक प्राप्ति गर्दै अगाडि बढेको थियो। पछिल्लोपटक बैंक अफ काठमाण्डौलाई मर्ज गरेर सबैभन्दा धेरै करिब ३६ अर्ब रुपैयाँ चुक्तापुँजी भएको बैंक बन्न सफल भएको छ। 

आधारभूत पक्ष

गत आर्थिक वर्षको तेस्रो त्रैमासम्म ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँबराबर रहेको छ। बैंकको रिटर्न अन अर्निङ १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १७.०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.३२ गुणा प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ। खराब कर्जा ४ प्रतिशत रहेको बैंकको रिटर्न अन इक्विटी १०.४१ प्रतिशत रहेको छ। बैंकको पछिल्लो १० वर्षको औसत वार्षिक लाभांशदर १८.५ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकको सेयर यो साता स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। आज दोस्रो बजारमा २३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ५२ साताको उच्च मूल्य पनि २३१ रुपैयाँ र न्यून मूल्य १७८ रुपैयाँ रहेको थियो। बैंकमा ५१.२० प्रतिशत संस्थापक समूहको र ४८.८० प्रतिशत सर्वासाधारण समूहको रहेको छ। 

सुपर ट्रेन्डका आधारमा  

सुुपर ट्रेन्डमा यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेर माथि जान्छ भने यो बैंकको सेयर बुलिस बन्दै गरेको बुझिन्छ। यो बैंकको सेयर गत साता नै बुलिस बनेको देखिन्छ। योसँगै सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ। यसले यो बैंकको सेयरभाउ बुल बन्दै गरेको बुझिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र एमएफआईका आधारमा 

बोलिंगर ब्यान्डको आधारमा यो बैंकको सेयरभाउ बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा चलेको देखिन्छ। भोलुम पनि क्रमशः बढ्दै गएको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। आरएसआई ८७ को ओभरबट जोनमा पुगेको छ। मनी फले इन्डेक्स ८० को तहमा पुगेको देखिन्छ। 

समग्रमा चारवटै इन्डिकेटरमार्फत हेर्दा ग्लोबल आईएमई बैंकको सेयरमा बुल रनमा चलेको तर अल्पकालमा भने सामान्य करेक्सन आउन सक्ने देखिन्छ। 

पिभट प्वइन्ट 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२३९
  • प्रतिरोध २ –२२७
  • प्रतिरोध १– २१४

पिभट प्वइन्टः १९०
घटेमा सपोर्ट 

  • सपोर्ट १– १७९
  • सपोर्ट २– १६६
  • प्रतिरोध ३ –१५५

निष्कर्ष

चुक्तापुँजी करिब ३६ अर्ब रहेको यो बैंकको सेयर पछिल्लो समयमा छोटो समयमै ५० रुपैयाँभन्दा बढीले बढेको छ। जगेडा कोषमा करिब साढे ३ अर्ब रपियाँ रहेको यो बैंकको सेयर अन्य वाणिज्य बैंकहरुमध्ये सस्तो र राम्रो भएका कारण नै पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताको नजरमा पर्न सफल देखिन्छ। बैंकको प्रतिसेयर आम्दानी र रिटर्न अन इक्विटी ठिकै रहेको ग्लोबल आईएमई बैंकको खराब कर्जा भने ४ प्रतिशत रहेको छ। यो भने बैंकका लागि चुनौती रहेको देखिन्छ। 

प्राविधिक रुपमा हेर्दा ग्लोबल आईएमई बैंकको सेयरभाउ बोलिंगरको अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ।  आरएसआई र मनी फ्लो इन्डेक्सबाट हेर्दा यो बैंकको सेयरभाउमा अल्पकालमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ भने दीर्घकालीन लगानीका लागि भने उत्तम नै रहेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन।