काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेपमा पछिल्लो साता सुधार भएको छ । 

सरकारले स्थानीय निकायलाई दिएको बजेटको ५० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा चलाउन पाउने व्यवस्था गरिदिएसँगै बैंकहरुमा एक सातामै निक्षेप करिब ४२ अर्बले बढेको हो । 

निक्षेपमा तीव्र सुधार भएको अवस्थामा ऋण लगानीतर्फ भने ७ अर्ब रुपैयाँले मात्र बिस्तार भएको नेपाल राष्ट्रबैंकले जनाएको छ । 

मंसिरयता ४१ अर्बले निक्षेप बढ्दा ऋण लगानी चाहि २० अर्बले मात्र बढेको छ । 

पछिल्लो समय निक्षेप र ऋणमा बैंकहरु सन्तुलित ढंगले अगाडि बढ्न खोजेका देखिए पनि विगतको असन्तुलन भने उनीहरुले मिलाउन सकेका छैनन् । विगतको यही असन्तुलनका कारण चालु आर्थिक वर्षको हालसम्म बैंकहरुले १३७ अर्ब निक्षेप उठाएर १९२ अर्ब ऋण लगानी गरेका छन् । यहीकारण बैंकहरु सीसीडी रेसियोको दवाबमा छन् । यो असन्तुलन मिलाउन बैंकहरुलाई फलामको च्यूरा चपाउनुपर्ने देखिन्छ ।