काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले हाल संचालनमा रहेका १५ वटा शाखा कार्यालयहरुको तेश्रो त्रैमासिक समीक्षा तथा आगामी आर्थिक वर्षको बजेट निर्धारण सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीको पोखराको नागढुंगास्थित होटल स्टार रबिमा एक कार्यक्रमबीच वित्तीय संस्थाका संचालक एवम् जनता बैंक नेपालका नायबप्रमुखकार्यकारी अधिकृत अजयकुमार मिश्रले जेठ ३ गते उद्घाटन गरे ।

उनले शाखाप्रबन्धक तथा केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखहरुलाई इमान्दारीपूर्वक काम गर्दै संस्थाले दिएको लक्ष्य हासिल गर्न सुझाव दिए । यस्तै, वित्तीय संस्थाका संस्थापक संचालक डा.सुरेन्द्र न्यौपाने तथा स्वतन्त्र संचालक मेघराज गजुरेलले समेत बोलेका थिए ।

बित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत सजल खड्काले गोष्ठीको उद्देश्य प्रष्टयाउँदै शाखा प्रबन्धकहरुलाई लक्ष्यअनुसार प्रगति गर्न, अध्ययनशील भई आफ्नो क्षमता विकास गर्न र आफू मातहतका कर्मचारीहरुलाई राम्रो संस्कारको विकास गर्नुपर्ने कुरामा जोड दिए ।

गोष्ठी कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका शाखाहरुको तेश्रो त्रैमाससम्मको लक्ष्य तथा प्रगति समीक्षा, लक्ष्य नपुग्नाको कारणहरु र आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो भने दोश्रो दिन आगामी आर्थिक वर्षको लागि बजेट निर्माण गर्ने काम भएको थियो । 

जनता बैंक नेपाल र मेघा बैक नेपालले प्रवद्र्धन गरेकोे यस वित्तीय संस्थाले अगामी ५ वर्षमा राष्ट्रिय स्तरको भई ७५ वटा शाखामार्फत करिब १ लाख सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब ३ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ । हाल यस वित्तीय संस्थाले ७,५०० घरधुरीलाई लघुवित्त सेवामा आवद्ध गराई ३१ करोड कर्जा लगानी गरेको छ । 

गेष्ठीमा १५ शाखा प्रबन्धकका साथै वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।