काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट २०७४ असार २७ गते शुक्रबार लघुवित्त कारोबार गर्ने इजाजतपत्रप्राप्त ५२ औं संस्थाको रुपमा पोखराको लेखनाथ महानगरपालिकास्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमीटेडले विधिवत रुपमा सेवा थालेको छ । 
शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो लघुवित्त संस्थाको उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै डा. नेपालले देशमा संख्यात्मक रुपमा धेरै लघुवित्त संस्थाहरु स्थापना भईरहेकोले अबका दिनहरुमा गुणात्मक बिकास गरी गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । मुलुक प्रादेशिक अवधारणामा गइसकेकोमा ७ वटा प्रदेशको ७४४ वटा स्थानीय क्षेत्रमध्ये करिब २५० वटा गाउँपालिकामा हाल बैंकिङ्ग पहुँच नपुगेकोले कुनै एक वाणिज्य बैंकको अनिवार्य शाखा पुग्नु पर्ने नियम बनाई सबै बैंकहरुलाई निर्देशन दिइसकिएको र सोही अनुरुप बैंकहरुले पनि प्रतिवद्धता जनाइसकेको हुँदा सोही क्षेत्रमा लघुवित्त संस्थाहरुले शाखा खोली कार्यक्रम विस्तार गर्दा राम्रो हुने सुुझाव दिए । 

वित्तीय संस्थाका अध्यक्ष प्रा. डा. सुशीलभक्त माथेमाले वित्तीय संस्था स्थापना गर्नुको उद्धेश्य माथि प्रकाश पार्दै सोही उद्धेश्य बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गरे । साथै, नियामक निकायको निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै ग्रामीण क्षेत्रको गरिबी न्यूनिकरण गर्न संस्थाले दुरदराजमा रहेका विपन्न वर्गलाई सेवा दिने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी अध्यक्षले हाल लघुवित्तलाई प्रदान गर्ने विपन्न वर्गको कर्जालाई बैंक वित्तीय संस्थाहरुले अन्य कर्जा सरह ब्याजदर लिने कार्य गर्दै आएको हुँदा लघुवित्त संस्थाहरुलाई काम गर्न अप्ठ्यारो परेकोले त्यसतर्फ केन्द्रीय बैंकको ध्यानाकर्षण गरे । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले हाल ५.६० करोड चुक्तापूँजी राखी १० वटा जिल्लाहरु कास्की, बाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त संचालनमा ल्याउने जानकारी दिए । वित्तीय संस्थाले चालु आ.व. मा १५ वटा शाखा मार्फत करिब १२००० विपन्न सदस्यहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको उनको भनाई थियो । 

लघुवित्त कार्यक्रमसँगै रेमिट्यान्स, लघुविमा, जीवन विमाको एजेन्ट, प्रविधिमैत्री लघुवित्त बैंकिङ्ग सेवा, सामाजिक कार्यक्रमहरु, तालिम तथा  विकाशका कार्यक्रमहरु आदि संचालन समेत गरिने उलने प्रष्ट्याए । स्थानीय सिप तथा क्षमताको प्रयोग गर्ने उद्देश्यले शाखा रहेका स्थानीय स्थानहरुको सदस्य महिला, स्थानीय महिला पुरुष तथा जोस जागर भएको युवाहरुलाई लघुवित्त कार्यक्रममा सहभागी गराएर अगामी ५ वर्ष भित्र ७० वटा शाखामा करिब १४० महिला तथा युवाहरुलाई सहजकर्ताको रुपमा स्वरोजगार बनाउने खालको कार्यक्रम संचालन गरिने समेत उनले सुनाए ।