काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ७३ करोड ६६ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा बैंकको खूद मुनाफा चाहि अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा घटेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको बैंकले यो वर्षको सोही अवधिमा भने १ अर्ब मात्र नाफा कमाउन सक्यो । 

बैंकको संचालन मुनाफामा पनि गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ४२ करोड रहेको यस्तो मुनाफा सामान्य घटी यो वर्ष १ अर्ब ४१ करोडमा सीमित बन्न पुगेको छ । 

बैंकको खूद ब्याज आम्दानीतर्फ पनि गिरावट नै आएको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब १८ करोड रहेको यस्तो आम्दानी घटेर यो वर्ष २ अर्ब १ करोडमा सीमित बन्न पुगेको छ । यो भनेको ८.१२ प्रतिशतको गिरावट हो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब २३ करोड कर्जा लगानी गरेको छ । निक्षेप र कर्जातर्फ अघिल्लो वर्षको तुलनामा क्रमशः ६.८७ प्रतिशत र ११.६७ प्रतिशतको बढोत्तरी भएको देखिएको छ । 

अघिल्लो वर्ष बैंकको रिजर्बमा ३ अर्ब ८५ करोड रहेकोमा आकार बढी ४ अर्ब १० करोडको उचाई चुमेको छ भने बैंकको रिटेन अर्निङ १ अर्ब ८५ करोडबाट घटेर १ अर्ब ६७ करोडमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ०.१९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.१७ प्रतिशत भएको छ भने समीक्षा अवधिमा सीसीडी रेसियो ७७.६ प्रतिशत, कस्ट अफ फण्ड ७.०९ प्रतिशत रहेको छ । कस्ट अफ फण्ड अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढेका कारण समेत नाफामा यसको नकारात्मक प्रभाव देखिएको हो।

बैंकको बेस रेट ९.९४ प्रतिशत, वार्षिकीकृत प्रतिसेयर आम्दानी २३.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.४० रुपैयाँ र पीई रेसियो १६.८४ गुणा कायम भएको छ ।