काठमाण्डौ । कर्मचारीको सेवासुविधा वृद्धिका विषयमा लिखित सहमतिलाई अटेर गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन पक्ष अहिले ज्यादतीमा उत्रिएको कर्मचारीहरुले आरोप लगाएका छन्। 

सहमति कार्यान्वयन गर्नुको सट्टा व्यवस्थापन पक्षले कर्मचारी ट्रेड युनियनका ७ कर्मचारीलाई बखास्त गर्ने नियत राखी सातदिने प्रस्टीकरण सोधेको कर्मचारीहरुको भनाइ छ। यस विषयमा राष्ट्र बैंकमा उजुरीसमेत दिइसकिएको उनीहरुले बताएका छन्। 

युनियनका अध्यक्ष पूर्णचन्द्रराज अवस्थीका अनुसार गत वर्ष माघ २८ गते व्यवस्थापन र कर्मचारीबीच कर्मचारीको सेवासुविधा, पदोन्नतिलगायतका विषयमा १७ बुँदे लिखित सहमति भएको थियो। ‘सहमति कार्यान्वयन नभएपछि गत फागुनदेखि हामी आन्दोलनमा उत्रियौँ’, उनले भने, ‘तर गत वैशाखबाट निषेधाज्ञा जारी भएपछि आन्दोलनका कार्यक्रम स्थगित गर्नुपर्यो।’

अवस्थीका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै सहमति कार्यान्वयनका लागि शान्तिपूर्ण धर्ना सुरु गरिएको थियो। ‘डेढ महिना धर्नामा बस्दा पनि हाम्रा माग सुनुवाइ भएन’, उनले भने।

गत कात्तिक ५ गते ७ जना कर्मचारीलाई व्यवस्थापन पक्षले स्पष्टीकरण पेस गर्न पत्र पठाएको पनि अवस्थीले जानकारी दिए। ‘कर्मचारीहरु कार्यालयमै हाजिर छन् तर स्पष्टीकरणको पत्र कर्मचारीको गाउँको ठेगानामा पठाइएको छ’, उनले भने, ‘संस्थाको यो नियत सरासर कर्मचारीका माग दबाउनेतिर गएको देखिन्छ।’

त्यतिमात्रै नभएर संस्थाले पत्रिकामा सूचना निकालेर सामाजिक रुपमै कर्मचारीको चरित्रहत्या गर्न खोजेको आरोप पनि अवस्थीले लगाएका छन्। ‘हाम्रा माग पूरा नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ’, उनले भने। 

संस्थाका प्रवक्ता चन्द्रमणि चौलागाई कर्मचारीले राखेका अधिकांश माग पूरा भइसकेको बताउँछन्। ‘उहाँहरुले राख्नुभएको तलबभत्ताको विषयमा सहमतिअनुसार व्यवस्थापन पक्षले पूरा गरिसकेको छ’, उनले भने, ‘१–२ वटा बुँदामा छलफल हुँदैछ, चाँडै नै निष्कर्ष निस्किन्छ।’

लामो समयदेखि कार्यालयमा हाजिर नभएकै ती कर्मचारीहरुलाई व्यवस्थापन पक्षले स्पष्टीकरण सोधेको चौलागाई बताउँछन्। संस्थाले ३० दिनभन्दा लामो समयदेखि कार्यालय हाजिर नभएको भन्दै ७ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ।