काठमाण्डौ । स्वीकृत भइसकेको ५ करोड ५० लाख लोन निश्कासनमा ढिलाई गरेको भन्दै दुर्गा प्रसाईंका कार्यकर्ताहरुले एक बैंक कर्मचारीलाई घरबाटै नियन्त्रणमा लिएको विषयले सनसनी मच्चिएको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको विर्तामोड शाखाका निमित्त प्रमुख दिनेश पनेरुलाई दुर्गा प्रसाईंको अभियानमा सहभागी कार्यकर्ताहरुको एउटा समूहले आज बिहान घरबाटै नियन्त्रणमा लिएपछि यो घटना बाहिर आएको हो । 

केही महिनाअघि नै देवी संग्रौलाले सञ्चालन गरेको बास्कोटा कृषि तथा पशुपालन फर्मका नाममा तत्कालीन मेगा बैंकले ५ करोड फिक्स्ड टर्म लोन र ५० लाख वर्किङ क्यापिटल लोन अप्रूभ गरेको थियो । स्वीकृत लोन कम्पनीको प्रोग्रेस रिपोर्टका आधारमा प्रवाह गर्ने भनिएको थियो । 

फर्मले प्रोग्रेस रिपोर्ट नबुझाए पनि बैंकले ३ करोड बढी लोन निकासा गरिदिइसकेको थियो । बाँकी लोन निकासाका लागि प्रोग्रेस रिपोर्ट मागेपछि त्यसमै लामो समयदेखि विवाद भइरहेको थियो । देवी संग्रौला दुर्गा प्रसाईको अभियानका केन्द्रीय सदस्य समेत हुन् । 

उनले लामो समयदेखि विभिन्न व्यक्ति तथा शक्ति प्रयोग गरेर बाँकी लोन पनि निकासाका लागि बैंक कर्मचारीलाई दवाब दिंदै आएका थिए । उनले प्रयोग गरेका सबै शक्तिकेन्द्र र दवाबपछि पनि बैंकले लोन निकासा नगरिदिएपछि विर्तामोडको अतिथि सदनमा रहेको पनेरुको डेरामा पुगेका थिए । 

डेरामा खाना खाँदै गरेका पनेरुलाई केहीबेर छलफल गरी नियन्त्रणमा लिएका थिए । ९ जनाको समूहले आफूलाई नियन्त्रणमा लिएर छेउकै चियापसलमा आधाघण्टा जति थर्काएको पनेरुले बताए । त्यसपछि सो समूहले दुर्गा प्रसाईंकोमा लैजाने भनेर गाडीमा चढाएका थिए । तर, केहीबेरमै फेरि छलफलका लागि भन्दै सो समूहले पनेरुलाई इलाका प्रहरी कार्यालय विर्तामोड पुर्याएको थियो । 

प्रहरीमा पुगेर केहीबेर छलफल गरेपछि पनि कुरा मिलेको थिएन । त्यहीँबाट सो समूहले पनेरुलाई दुर्गा प्रसाईको घरमा लैजाने भनेपछि प्रहरीले संग्रौलालाई तत्काल नियन्त्रणमा लिएको थियो । 

हाल बैंक तथा पनेरुलाई नियन्त्रणमा लिने समूहबीच प्रहरी कार्यालयमै छलफल जारी रहेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीले लोनका लागि राखिने धितो लगायतमा कुरा नमिलेर विवाद भएको र त्यस्तै उजुरी आएका कारण दुवै पक्षलाई विर्तामोड प्रहरीमा राखेर छलफल भइरहेको दाबी गरेका छन् । 

विर्तामोड प्रहरीका प्रमुख डिएसपी सुरज कार्कीले हालसम्म घटना बाहिर आएजस्तो अपहरण नै भएको नदेखिएको र दुवै पक्षलाई राखेर छलफल गराउने तथा घटनाको विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिए । 

यसैबीच, घटनालगत्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे झापा पुगेका छन् । केहीबेरअघिको उडानबाट उनी झापा पुगेका हुन् । 

उनले झापामै रहेका दुर्गा प्रसाईंलाई समेत केहीबेरपछि भेटेर छलफल गर्ने बताइएको छ । 

पाण्डेसँगको टेलिफोन वार्तामा प्रसाईंले घटनामा आफ्नो अभियानलाई नजोड्न र संलग्नहरु आफ्ना कार्यकर्ता नभएको दाबी गरेका छन् ।