काठमाण्डौ । युक्रेनले बीमा ब्रोकर मार्श र परामर्श कम्पनी ओलिभर वाइम्यानसँग हवाई यातायातको लागि युद्ध जोखिम बीमाको बारेमा छलफल गरिरहेको छ ।

युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषदले हवाई यातायातको लागि युद्ध जोखिम बीमाको बारेमा छलफल भइहेको जनाएको हो । 

सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेपछि युक्रेनी आकाशमा हवाई यातायात प्रतिबन्ध गरिएको छ। तर युक्रेन मापदण्ड पुरा भएर अनुमति प्राप्त भएपछि राजधानीबाहिरको बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थल जतिसक्दो चाँडो खोल्न चाहन्छ । जसलाई युक्रेनले आफ्नो अर्थतन्त्रको विजयको रूपमा हेरेको छ । 

युक्रेनमा हवाई यातायात र व्यापार यात्रामा सैन्य जोखिम बीमामा सहयोगका थप चरणहरूको थालनी भएको छ । यसका साथै पुनर्निर्माणमा ठूलो मात्रामा लगानी बीमा बारे छलफल भएको छ’, युक्रेनको रक्षा परिषद्को वेबसाइटमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

ब्ल्याक सी कोरिडोर भएर अन्न ढुवानी गर्ने जहाजहरूको क्षति/नोक्सानी दावी कम गर्न अन्य बीमाकर्ताहरू र युक्रेनी राज्य बैंकहरूसँग मार्शले पहिले देखिनै युद्ध जोखिम जहाज बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

गत डिसेम्बर महिनामा बोरिस्पिल एयरपोर्टबाट बोइङ ७७७–३०० को प्राविधिक उडान भएको थियो । -एजेन्सी