काठमाण्डौ । चालु आर्थिक वर्ष ०७९-८० को पहिलो त्रैमासमा हिमालयन बैंक लिमीटेडले १७.५८ प्रतिशतले नाफा बढाएको छ । 

समीक्षा अवधिमा बैंकले ५३ करोड २४ लाख खूद मुनाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ४५ करोड २८ लाख मात्र नाफा आर्जन गरेको थियो । 

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ६४ करोड ७७ लाखमा सीमित सञ्चालन मुनाफालाई बढाएर ७८ करोड ९४ लाख पुर्याएको छ भने १ अर्ब ११ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ८० करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

खूद नाफा बढे पनि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने गत वर्षको तुलनामा थोरै घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १६.९५ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष १६.४२ रुपैयाँ कायम भएको हो । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ खर्ब ६८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार बढेर ७ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ६ अर्ब ५१ करोडमा सीमित थियो । 

हिमालयन बैंकको खराब कर्जाको अनुपात भने ह्वात्तै बढेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.५८ प्रतिशत रहेको यस्तो अनुपात बढेर समीक्षा अवधिसम्म २.३१ प्रतिशत पुगेको हो । बैंकको वित्तीय स्वास्थ्यका लागि यो राम्रो संकेत होइन । 

समीक्षा अवधिमा बैंकका पीई रेसियो १९.९० गुणा, प्रतिसेयर नेटवर्थ रु. १७५.२२, तरलता अनुपात २३.२१ प्रतिशत कायम भएको छ ।