काठमाण्डौ । हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्वको बिषयलाई लिएर छताछुल्ल भएको विवादले नयाँ मोड लिने देखिएको छ । बैंकले पुस २८ गते वार्षिक साधारणसभा आह्वान गरेर विवादलाई नयाँ रुप दिन खोजेको देखिएको हो । 

बैंकले आह्वान गरेको वार्षिक साधारणसभामा अदालतको आदेश र भावना विपरीत नयाँ संचालक समितिको निर्वाचन गराउने कुनै अजेण्डा नै नराखिएपछि विवादले नयाँ मोड लिने संभावना बढेको छ । 

साधारणसभाको सूचनामा समेत बैंकले पुरानै पारामा न्यायका लागि अदालतसम्म पुुगेको संचालक समूहलाई पेल्ने रणनीति बनाएको देखिएको छ । अदालतबाट न्याय पाउने आशामा रहेको संचालक समूह बैंकको नयाँ रणनीतिबाट हच्किएको छ भने साधारणसभासम्म कुर्ने र त्यसपछि पनि अदालतको आदेश र आफ्ना भावनाको सम्बोधन नभए पुनः अदालत नै पुुग्ने रणनीतिमा रहेको उच्च स्रोतले जनाएको छ । 

हिमालयन बैंकले बैंकको चौथो ठूलो सेयर स्वामित्व धारक(लगानीकर्ता) म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उच्च अदालत पाटनले आफ्नो अन्तरिम आदेश खारेज गरिदिएको थियो । सो बैंकले वार्षिक साधारणसभा घोषणा गरिसकेको र बैंकको तर्फबाट समयमै साधारणसभा सकी निवेदकको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त भएको भन्दै मंसिर १ गते बैंकका नाममा जारी अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने निश्कर्ष निकालेको थियो । 

साधारणसभाको प्रक्रिया प्रारम्भ भइसकेको देखिएको र साधारणसभाबाट निवेदकको मागको उचित सम्बोधन हुने भन्दै अदालतले मंसिर १ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिनुु नपर्ने निश्कर्ष सुनाएको थियो । अदालत समक्ष हिमालयन बैंकले तोकिएको समयमै साधारणसभा गरी निवेदकको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो । अदालतले सो प्रतिबद्धता अनुसार तोकिएको समयमा साधारणसभा गरेर निवेदकको माग पूरा गर्ने नैतिक र कानूनी दायीत्व समेत हिमालयन बैंकको हुने ठहर गरेको थियो । तर, अदालतको यो ठहरविपरीतको बाटोमा हिमालयन बैंक चल्न खोजेको देखिएको छ, जसले संचालकमा प्रतिनिधित्वको विवाद थप चर्किनेछ। 

के गर्छ म्युचुुअल ट्रेडिङ कम्पनीले ?

अदालतले साधारणसभाका लागि बाटो खुलाएसँगै बैंकले म्युचुुअल ट्रेडिङ कम्पनीको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । तर, प्रतिबद्धताविपरीत बैंक जानसक्ने संभावना बढेपछि म्युचुुअल ट्रेडिङ कम्पनीका अधिकारीहरु पर्ख र हेरको रणनीतिमा छन् । 

कम्पनीस्थित उच्च स्रोतका अनुसार बैंकले साधारणसभाको सूचनामा विशेष प्रस्तावको बुँदा नम्बर २ मा उल्लेख अजेण्डापछि आफ्नो माग सम्बोधन हुन्छ या हुँदैन भन्ने बिषय हेर्ने भएको छ । २ नम्बर बुँदामा ‘बैंकको प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तथा प्रस्तावित संशोधनमा नेपाल राष्ट्रबैंक वा अन्य निकायले फेरबदल गरेमा आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार दिने’ भन्ने प्रस्ताव राखिएको छ । 

म्युचुुअल ट्रेडिङ कम्पनीले यो प्रस्ताव पारित भएपछि नयाँ संचालकको निर्वाचन गर्ने  प्रयास हुनसक्ने रुपमा बुुझे पनि ढुक्क हुने अवस्था भने नरहेको बताइएको छ । 

अझ धेरै संशय !
हिमालयन बैंकले प्रकाशित गरेको साधारणसभाको सूचनामा केही सन्देहपूर्ण सन्देशहरु प्रवाह गरिएको भन्दै म्युचुुअल ट्रेडिङ कम्पनीका संचालक हच्किएका छन् । साधारणसभाको सूचना सम्प्रेषण गर्नुअघि कम्पनी निकटका संचालकहरुले ‘सेयरको प्रतिशतको आधारमा मतदान अधिकार रहने’ भन्ने शब्दावली राखे पनि सूचना प्रकाशित गर्दा त्यसलाई संसोधन गरेर बैंकले ‘एक ग्रुप बराबर एक भोटको अधिकार रहने’ भन्ने आशय बनाएको छ । ‘बैंकमा विल्कुल गलत अभ्यास गर्न खोजिदैछ ।’ स्रोतले भन्यो–‘एक ग्रुप बराबर एक भोट भन्ने हिसाबले अगाडि बढ्न खोजिएको छ, यो न्यायोचित छैन । सेयर कित्ताको हिसाब भएन ।’ 

समूहको सेयर स्वामित्वको आधारमा भनेर अगाडि बढ्नुुपर्नेमा ‘सेयरको आधार’ भन्ने शब्दावली झिकेर साधारणसभाको सूचना प्रकाशित भएपछि म्युचुुअल ट्रेडिङ कम्पनी निकटका संचालक बैंकको नियतबाट झस्किएका छन् । एक संचालकले बोर्डको साधारणसभा सम्बन्धी माइन्युटमै यो बिषय गलत ढंगले अगाडि बढाइएको भन्दै नोट अफ डिसेन्ट नै लेखेका बैंक स्रोत दाबी गर्छ । 

म्युचुुअल ट्रेडिङ कम्पनी अब के गर्छ त ? कम्पनीका एक अधिकारीले बिजशालासँग भने–‘साधारणसभासम्म पर्खन्छौ, बैंकको प्रबन्धपत्र र नियमावली कसरी संसोधन हुन्छ, त्यसलाई हेरेर अगाडि बढ्छौ ।’ ती अधिकारीले बोर्डले अदालतबाट आएको आदेश अनुसार सहमति गरेर अगाडि बढ्ने बिषयमा कुनै पहलकदमी नलिएको देखिएको दाबी गरे । ‘अदालतसमक्ष बैंकले गरेको प्रतिबद्धता पूरा हुने संभावना निकै कम छ ।’ उनले भने–‘साधारणसभासम्म हेर्छौ र हाम्रो बिषय सम्बोधन नभए अदालतको अवहेलना लगायतको मुद्धा लिएर पुनः अदालतमै जानेछौ ।’ 

ती अधिकारीले निर्वाचन केका आधारमा हुने भन्ने प्रष्ट प्रस्ताव समेत नगरेको उल्लेख गर्दै भने–‘निर्वाचन कसरी र केका आधारमा हुने भन्ने पनि प्रष्ट कहीँ देखिएन । उहाँहरुको नियत नै खराब छ कि भन्ने देखिएको छ ।’