– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । पर्साको वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो। सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित हिमालयन डिस्टिलरी सन् २००० मार्च ११ मा पब्लिक कम्पनीमा परिणत भएको थियो। हिमालयन डिस्टिलरीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधरण समूहको ४२ प्रतिशत सेयर स्वामत्व रहेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०७८–७९मा ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो। यसअघिको २ आर्थिक वर्षमा भने कम्पनीले बोनस सेयर र नगद लाभांश गरी १००÷१०० प्रतिशत र त्योभन्दा अघिल्लो वर्ष बोनस सेयर र नगद लाभांश गरी १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। कम्पनीको विगत १० वर्षको औसत वार्षिक लाभांश दर भने ५३.३७ प्रतिशत रहेको छ। 

आधाभूत पक्ष 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी लगभग २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भ लगभग ८४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिजर्भमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ थियो।  

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५७ करोड ६६ लाख रुपैयाँबराबर रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३१.६५ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको ईपीएस भने ५६.८४ रुपैयाँ थियो। यस हिसाबले कम्पनीको पुँजी बढ्दै जाँदा ईपीएस घट्दै गएको छ। कम्पनीको बुक भ्यालु १३४.५७ रुपैयाँ र रिटर्न अन इक्विटी २३.५१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष रिटर्न अन इक्विटी २८.१९ प्रतिशत थियो। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी केही समयदेखि साप्ताहिक बियरिस सेन्टिमेन्टमा रहेको छ। यस्तो मिटरमा यदि सूचक २० भन्दा तल भएमा स्ट्रङ बियरिस र ८० भन्दा तल भएमा स्ट्रङ बुलिस भन्ने हो। हाल ३५ को तहमा रहेको यो कम्पनी बियरिस सेन्टिमेन्टमा रहेको पाइन्छ।  कम्पनीको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ४०७५ रुपैयाँ र न्यून मूल्य १८३७ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा यो कम्पनीको सेयर प्रतिकित्ता २२४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

इचिमोकुका आधारमा

इचिमोकुमा हिमालय डिस्टिलरीको सेयर बुलिस नै रहेको छ। मूल्यरेखा र अन्य रेखाहरु क्लाउड पोजिसनभन्दा माथि–माथि चलेका छन्। क्लाउड पोजिसन पनि हरियो नै छ। तर, बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेकोले हाल यो कम्पनीको सेयरमा अल्पकालीन करेक्सन चलेको देखिन्छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

डेली बेसमा कम्पनीलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा अघिल्लो महिनादेखि करेक्सन आएको यो कम्पनीको सेयरभाउ क्रमशः साइडवेज चलको देखिन्छ। बोलिंगर ब्यान्डको अपर ब्यान्ड र लोअर ब्यान्डको दूुुरी कम हुँदै गएको देखिन्छ। यसले कम्पनीको सेयरमा आल्पकालीन ट्रेन्ड रिभर्सल आउन सक्ने देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। डेली बेसमै आरएसआई न्युट्रल जोनमा रहेको छ। वान आवर टाइम फेरेममा भने ४० को तहमा देखिन्छ। वान आवर टाइम फेरेममै मनी फ्लो इन्डेक्सबाट हेर्दा १३ को ओभर सोल्ड जोन नजिक रहेको देखिन्छ। यसले यो कम्पनीको सेयरभाउमा अल्पकालीन समयावधिमा बाउन्स हुन सक्ने देखिन्छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३– २४८५
  • प्रतिरोध २– २४३७
  • प्रतिरोध १– २३५०

पिभट प्वइन्टः २३०२

घटेमा सपोर्ट 

  • सपोर्ट १– २२१५
  • सपोर्ट २– २१६७
  • प्रतिरोध ३– २०८०

निष्कर्ष

हिमालयन डिस्टिलरी आधारभूत रुपमा ठीकै कम्पनी मानिन्छ। करिब साढे २ अर्ब चुक्तापुँजी रहेको यो कम्पनीको पुँजी बढ्दै जाँदा केही महत्वपूर्ण सूचकमा भने गिरावट आउँदै गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको रिटर्न अन इक्विटी, जगेडा कोष, प्रतिसेयर अम्दानी, खुद मूनाफा र  बुक भ्यालुमा गिरावट आएको छ। तर, पनि जगेडा कोष अझै करिब ८४ करोड रुपैयाँ हुनु यो कम्पनीको सबल पक्ष नै देखिन्छ। 

प्राविधिक रुपमा हेर्दा केही समयदेखि करेक्सन आएको यो कम्पनीको सेयरमा अल्पकालमा बढोत्तरी आउन सक्ने केही इन्डकेटरबाट देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।