काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको विषयमा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।

समितिले धितोपत्र बोर्डलाई पत्र काट्दै हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको विषयमा सोधखोज गरेको हो । 

‘लगानीकर्ताहरुले केहि दिन अगाडि हिमालयन रिइन्स्योरेन्सको आईपीओ अनुमति नियमसंगत नभएको भन्दै समितिमा उजुरी दिएका थिए’, समितिका सदस्य लेखनाथ दाहालले बिजशालासँग भने, ‘सोही उजुरीका आधारमा समितिले धितोपत्र बोर्डलाई यस विषयमा आवश्यक जानकारी र प्रक्रियाबारे लिखित रुपमा जानकारी पत्र काटेको हो ।’

लेखा समितिले प्रिमियम आईपीओसम्बन्धमा पत्र काट्दै धितोपत्र बोर्डलाई प्रिमियम आईपीओ जारी गर्दा केकस्तो भएको हो, त्यससम्बन्धी नियमहरु के छन् सोसम्बन्धमा तत्काल जवाफसहित उपस्थित हुन भनेको छ ।बोर्डलाई एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ । 

कम्पनीले आगामी कात्तिक २१ गतेदेखि प्रिमियम मूल्यमा ३ करोड कित्ता सेयर जारी गर्दैछ ।कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ।

जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ।