काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५.८३ प्रतिशतले खूद नाफा बढाएको छ । 

बैंकले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आबको पहिलो त्रैमासमा खूद नाफा ४३ करोड ८४ लाख आर्जन भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खूद नाफा ३२ करोड २७ लाख मात्र थियो । 

यो वाणिज्य बैंकको खूद ब्याज आम्दानी अघिल्लो वर्षको पहिलो त्रैमासमा ६९ करोड ७२ लाखबाट वृद्धि भई ८२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । 

यो बैंकको चुक्तापूँजी ४ अर्ब ९६ करोड र जगेडा कोषमा ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकले ९३ अर्ब २२ करोड निक्षेप संकलन गरी ७२ अर्ब १८ करोड कर्जा प्रवाह गर्यो । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो बैंकले ७७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ५७ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको थियो । 

हिमालयन बैंकले निस्क्रिय कर्जा दर(एनपीएल रेट)मा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.३५ प्रतिशत रहेको एनपीएल घटाएर यो वर्ष १.१७ मा झारिएको हो । 

बैंकको प्रतिसेयर आम्दानी  ३८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ  २१७.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.६१ गुणा कायम भएको छ ।