काठमाण्डौ । बजारमा ब्राण्ड बिक्ने हिमालयन बैंकको ऋणपत्र खरीद गर्ने लगानीकर्ता निकै कम देखिएका छन् । 

यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा १३ दिनको अवधिसम्म पनि निकै न्यून मात्र आवेदन परेको हो । 

यो अवधिसम्म सर्वसाधारणका लागि सुरक्षित गरिएको युनिटमध्ये ४ प्रतिशत बिक्री हुन समेत मुश्किल परेको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार मंगलबारसम्म वार्षिक १० प्रतिशत ब्याज पाइने हिमालयन बैंकको ऋणपत्र ३.८३ प्रतिशत मात्र बिक्री हुन सकेको हो । 

पछिल्लो समय वाणिज्य बैंकहरुले निश्कासन गरेका ऋणपत्रको तुलनामा हिमालयन बैंकको ऋणपत्रले निकै झूर प्रदर्शन गरेको हो । 

अन्य बैंकहरुले वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने गरी ऋणपत्र ल्याए पनि हिमालयनले भने १० प्रतिशत मात्र ब्याजको अफर गरेपछि यसले समेत सबै ऋणपत्र बिक्रीमा समस्या देखिएको हो । 

यो कम्पनीको ऋणपत्र खरीदका लागि साउन ३१ गतेभित्र आवेदन दिन सकिनेछ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कास गर्नुपर्ने व्यवस्था ल्याएको छ । राष्ट्रबैंकले ऋणपत्रमा जोड दिइरहँदा बैंकहरुबाट निश्कासित यस्ता लगानीका उपकरणहरुमा लगानीकर्ताको आकर्षण भने खासै देखिन सकेको छैन । 

हिमालयन बैंकले १००० प्रति युनिटका दरले ३० लाख युनिट ऋणपत्र निश्कासन गरेको हो । कुल रु. ३ अर्बको ऋणपत्र निश्कासन गरेकोमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि अफर गरिएको छ । बाँकी १ अर्ब ८० करोड भने प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुनेछ । 

सात वर्षे ऋणपत्रमा मंगलबारसम्म कुल ७२३ वटा मात्र आवेदन परेका छन् । कुल ४६ हजार २४ युनिटका लागि मात्र खरीद आवेदन परेको छ । 
इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम सीमासम्मका लागि आवेदन दिन सकिने बताइएको छ । 

यसअघि हिमालयन बैंकले वार्षिक ८ प्रतिशत ब्याज पाउने गरी ६० करोडको ‘८% हिमालयन बैंक डिवेञ्चर–२०७७’ बिक्री गरेको थियो ।