काठमाडौं। लामो समयदेखि लफडा गर्दै आएका र विगत १६ वर्षदेखि लगातार अध्यक्षको रुपमा रहेका मनोजबहादुर श्रेष्ठ हिमालयन बंैकबाट बाहिरिने पक्का भएको छ । 

योसँगै उनले २६ वर्षदेखि बैंकको संचालकको रुपमा गरेको हालीमुहालीको श्रृंखला समेत अन्त हुने आशा गरिएको छ । 

संचालकहरुको निर्वाचनसहित माघ २९ गते डाकिएको वार्षिक साधारणसभाअघि सार्वजनिक संचालकका लागि मनोनयन दर्ताबाटै मनोजबहादुर पछाडि हटेका छन् । योसँगै उनी संचालकको रुपमा बैंक आउने बाटो बन्द भएको छ । 

मनोजबहादुर नआए पनि उनका भाई प्रचण्डबहादुर श्रेष्ठ भने संचालकको रुपमा आउनेछन्। 

बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) लाई जसरी पनि हिमालयन बैंकमा ल्याउन राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिको निर्वाचन हुँदैछ । मनोजबहादुर र उनका भाई प्रचण्डबहादुर सिडिसीलाई भित्र्याउन मुख्य बाधक बनेका भन्दै नियामक केन्द्रीय बैंक पनि असन्तुष्ट थियो । अन्य संचालक समेत उनीहरुको एकलौटी व्यवहारका कारण दिक्क बनेका थिए । 

यो पटकको साधारणसभामा पाँचजना संस्थापक सेयरधनी संचालकको रुपमा निर्वाचित हुने कार्यक्रम रहेको थियो । 

तर, मनोजबहादुर श्रेष्ठले संचालकका लागि उम्मेद्वारी दर्ता नगराएका बैंक स्रोतले जनाएको छ । 

यसपटकको संचालक समितिको निर्वाचनमा पूर्व मन्त्री सुनिलबहादुर थापाको समेत उम्मेद्वारी परेको छ । उनी संचालक हुँदै संचालक समिति अध्यक्ष बन्ने संभावना समेत प्रवल रहेको स्रोत बताउँछ । 

मनोजबहादुर श्रेष्ठ समूहको पेलानका कारण निकै राम्रो स्वामित्व भएर पनि संचालक बन्न नपाएको खेतान समूहले समेत यो पटक एक संचालक पाउने पक्काजस्तै भएको छ । यो समूहबाट सञ्चालक समिति सदस्यमा आशिष शर्माले उम्मेद्वारी दिनेछन् । उनी भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन्। उनी केही समयअघि नबिल बैंकको पनि सञ्चालक समिति सदस्य थिए। 

पाकिस्तानी बैंक हबिबबाट फैजल एन ललानीको उमेद्वारी परेको छ भने कर्मचारी सञ्चय कोषका प्रमुख तुलसीप्रसाद गौतम पनि सञ्चालक समितिमा आउने छन्। 

यो साधारणसभासँगै हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको २० प्रतिशत सेयर सिडीसीलाई बिक्री गर्ने मार्ग समेत प्रशस्त हुनेछ । यही प्रक्रियामा श्रेष्ठ दाजुभाई बाधक बनेका थिए । संचालक समितिमा उनीहरुको वर्षौदेखिको बर्चश्व गुम्ने डरले सिडीसीलाई रोक्न उनीहरु सक्रिय बनेका आरोप लाग्दै आएको छ । 

यो चलखेलको विषयमा जानकार राष्ट्रबैंकले हिमालयन बैंकलाई संचालकको निर्वाचनसहित साधारणसभा आह्वान गर्न निर्देशन दिएको थियो । सो क्रममा केन्द्रीय बैंकले संस्थापकको ठूलो सेयर हिस्सा सर्वसाधारणमा रुपान्तरण गर्न समेत भनेको छ । प्रारम्भमा सर्वसाधारणमा एफपीओ जारी गर्ने सोंच बैंकले बनाए पनि राष्ट्रबैंकले भने संस्थापक सेयर हिस्सालाई सर्वसाधारणमा रुपान्तरण गर्न अनुमति दिएको थियो । यो अनुमतिसँगै बैंकले सर्वसाधारण सेयरधनीको १५ प्रतिशत हिस्सालाई बढाएर ३० प्रतिशत पुर्याउनुपर्नेछ । 

सर्वसाधारण बाहेक हाल हिमालयन बैंकमा हबिब बैंक पाकिस्तान(२० प्रतिशत), कर्मचारी सञ्चयकोष(१४ प्रतिशत), मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी(१२.७१ प्रतिशत), खेतान समूहको म्युचुअल ट्रेडिङ(११.८५ प्रतिशत) तथा राणा समूहको आभा इन्टरनेशनल(११.३८ प्रतिशत) बैंकमा सेयर छ । मनोजबहादुर श्रेष्ठका भाईको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ । 

माघ २९ गते डाकिएको सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ । त्यस्तै बैंको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याउनेसम्बनधी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।