काठमाण्डौ । बैंकिङ प्रणालीमा थुप्रिएको तरलतापछि बैंकहरुको ब्याजदर घटाउन तँछाडमछाड गर्दै नयाँ नयाँ कर्जाको प्रडक्टहरुमा केन्द्रीत हुन थालेका छन् ।

योसँगै हालै सार्वजनिक मौद्रिक नीतिले एसएमई, कृषि, आवास लगायतका क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेपछि यिनै विषयसँग जोडेर कर्जाको प्रडक्ट तयार गर्दै बजारमा आउने क्रम बढेको छ । 

यो क्रममा हिमालयन बैंक लिमिटेडले पनि एकैसाथ ११ प्रकारका विभिन्न विशेष कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले आइतबार ८.४९ प्रतिशत ब्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९ प्रतिशत ब्याजदरमा ५ प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकको ८.४९ प्रतिशतको ब्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स कर्जाहरु रहेका छन् । 

त्यसैगरी, ९.८९ प्रतिशत ब्याजदरको कर्जा योजनामा शेयर धित्तोकर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा,  व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन्। 

त्यस्तै बंैकले १०.३९ प्रतिशत ब्याजदरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ। दश वर्षको अबधिसम्मका लागि पाइने एस.एम.इ कर्जा ग्राहकहरुले न्यूनतम पाँचलाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ। ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन्। 
विशेष आकर्षणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागू हुने ब्याजदरको प्रिमियम न्यूनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पूर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्यून रहने बैंकले जनाएको छ । 

साथै यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन् । ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरुमार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन् । हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा उपलब्ध  गराउँदै आएको छ।