काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् ।

धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

बुधवार कम्पनीको सेयर १० प्रतिशतले बढेर ४११.५० रुपैयाँमा पुगेको छ। मार्केट डेप्थमा  कम्पनीको ३० लाख ८४ हजारभन्दा बढी कित्ता सेयर खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यो समाचार तयार पार्दाको अवधि २ : ०६ बजेसम्ममा बजार १२.७४ अंकले बढेर २ हजार ९२.८६ विन्दुमा पुगेको छ ।

यसैगरी, कारोबार भने ३ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।
बिजशालाले गरेको नेप्से विश्लेषणलाई आधार मान्ने हो भने केहि दिनको बजारको गतिले बढ्दो बजारलाई संकेत गरेको छ । 

इन्डिकेटरबाट हेर्दा बजार बुलिस नै छ । डेली बेसमा पनि सुपर ट्रेन्डमा बुलिस नै देखिन्छ ।यसकारण यो साता पनि बजारले २ हजार विन्दुभन्दा माथि टिकेर कारोबार गरेमा भने बजार बुलिसतर्फ अगाडि बढेको मान्न सकिन्छ।
 बजार जानकार दामोदर गजुरेल बजार सेक्टर रोटेसन हुँदै चलेकोले बजार बलियो हुँदै माथि जाने सम्भाबना देखिएको बताउँछन् ।

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे चाहिं केहि समयदेखि घटेको बजारमा करेक्सन सकिएको र बैंकको आधारदर ७०देखि ८० पैसा घटेर आउने चर्चा बजारमा सुनिएकाले बजारले गति लिने बताउँछन् । 
 उनका अनुसार अहिले सेयर बेच्नेहरुले नै केहि समय होल्ड गरेको देखिन्छ भने खरिदकर्ताहरु आक्रामक देखिन्छन् ।