 
                     
                                
                             
                                    काठमाण्डौ । नक्कली भिसा कार्ड प्रयोग गरी ह्याकरहरुले काठमाण्डौका एटिएमहरुबाट लाखौँ रकम निकालेको आशंकापछि शनिबार रातिबाटै बन्द गरिएको अधिकांश बैंकका एटिमएम सेवाहरु आइतबार बिहानबाट सञ्चालनमा आएका छन् ।
शनिबार मध्यरातमा पाँचजना चिनियाँ नागरिक काठमाण्डौँको दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनधिकृत रुपमा पैसा निकाल्दै गर्दा पक्राउ परेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा गरेको थियो ।
नेप्समा नेपालका ११ वटा वाणिज्य बैंक आबद्ध रहेको र तीमध्ये प्रभु र एनआईसी एसियाबाहेक सबै बैंकको एटिएम सेवा सञ्चालनमा आएको छ । प्रभु र एनआईसी एसिया बैंकको केही प्राविधिक काम भइरहेकोले सञ्चालनमा आउन केही समय लाग्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।
एटिएम सेवा सञ्चालनमा आएका बैंकका एटिएमबाट अहिले अन्य बैंकको रकम निकाल्न बन्द गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भने, “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ ।”
पक्राउ परेकासँग प्रहरीले रु १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको नाम गोप्य राखिएको छ ।
प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने बताएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19