काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे डडेलधुरा शाखाले २०७६ बैशाख २१ गते मातातिर्थ औंशी (आमाको मुख हेर्ने दिन)को अवसर पारी शाखा प्राङ्गणमा एक कार्यक्रम आयोजना गरेको थियो । 

समारोहमा बैंकले अमरगढी नगरपालिकाको प्रत्येक वडाबाट एक जेष्ठ नागरिक आमा छनोट गरी कुल ११ जना जेष्ठ आमाहरुलाई सम्मान स्वरुप कपडा, फलफुल तथा मिठाइ सामाग्री वितरण गरेको थियो ।

सोही कार्यक्रममा बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना अनाथ विद्यार्थीहरुलाई रु.२५००० प्रतिविद्यार्थीका दरले कुल रु.५०,००० (अक्षरेपी पचास हजार मात्र) बराबरको छात्रवृति पनि प्रदान गरेको थियो ।

यसका अतिरिक्त सोही दिन उक्त शाखाले “हामी सबैको पहल, सफा तथा स्वच्छ सहर” भन्ने मूल नाराका साथ आफ्ना कर्मचारी लगायत स्थानीयबासिन्दाहरुको सहकार्यमा तुफानडाँडादेखि बागबजारसम्म सरसफाई कार्य पनि गरेको थियो ।