काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव कति हदसम्म विकराल बनिरहेको छ भन्ने कुरा नेपाल राष्ट्रबैंकले निश्कासन गरेको विकास ऋणपत्रमा परेको अचाक्ली आवेदनले समेत पुष्टि गर्छ । 

नेपाल राष्ट्रबैंकले २ पटक गरी १५ अर्बको विकास ऋणपत्र सोझै खरीदका लागि बोलपत्र आह्वान गरेकोमा ४१ अर्ब ६८ करोड भन्दा बढीको माग आवेदन परेको देखिएको हो । 

राष्ट्रबैंकका एक अधिकारीका अनुसार बुधबार निश्कासन गरिएको १० अर्ब रुपैयाँको विकास ऋणपत्रमा मात्रै २२ अर्ब ६८ करोड ४४ लाख बढीको आवेदन परेको छ । ती कर्मचारीका अनुसार २२ वटा बैंक तथा बित्तीय संस्थाले १० अर्बका लागि आवेदन दिएका थिए, तर १३ वटाले मात्र रकम पाए । 
राष्ट्रबैंकले यसअघि गत आइतबार समेत ५ अर्बको ऋणपत्र निश्कासन गरेको थियो । ५ अर्बको प्रस्ताव माग हुँदा ९ अर्ब बढीको आवेदन परेको हो ।

केन्द्रीय बैंकले अझै पनि प्रणालीमा ४१ अर्ब अधिक तरलता रहेको दाबी गर्दै आएको छ ।