काठमाण्डौ । नेपाल राष्ट्रबैंकले डिजाइनमा केही परिवर्तन गर्दै २० रुपैयाँको नयाँ नोट शुक्रबारदेखि चलनचल्तीमा ल्याएको छ । 

केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएपछि डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको ५० र १ सय रुपैयाँ दरको नोट चलनचल्तीमा आइसकेको छ । उनको हस्ताक्षरसहितको शुक्रबारदेखि बजारमा आएको २० को नोट तेश्रो हो । 

राष्ट्रबैंकका अनुसार शुक्रबारदेखि एक करोड ५० लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा ल्याइएको हो । कुल २१ करोड रुपैयाँ बराबरको २० का नयाँ नोट बजारमा ल्याइने बताइएको छ । 
यस्तो छ नयाँ नोट
पुरानो नोटमा बीस दीर्घ लेखिएको थियो भने नयाँ नोटमा बिस हृस्व लेखिएको छ । नयाँ नोटको अगाडिको देब्रे भागमा सगरमाथाको चित्र छ। दाहिनेतिर लालीगुराँसको पानीछाप छ । नोटको तल्लो भागको बोर्डमा नोटको सेरिज नम्बर नेपालीमा वि. सं. २०७२ लेखिएको छ। यो गभर्नरको हस्ताक्षरको तलपट्टि छ । यस्तै, नोटको पछिल्तिरको भागमा बीचमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ।

नोटको मध्य भागमा दुई वटा बाह्रसिंगेको चित्र छ । पुरानो २० को नोटमा एउटा मृगको तस्विर रहेको थियो । नयाँ नोटको पछिल्तिर तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपीज ट्वेन्टी’ लेखिएको छ। साथै तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०१६ एडी’ लेखिएको छ।